रकम बाँडेकाे विषयमा पत्रकार महासंघ दाङको ध्यानाकर्षण : छानविन समिति गठन



रकम बाँडेकाे विषयमा पत्रकार महासंघ दाङको ध्यानाकर्षण : छानविन समिति गठन

दाङ २३ असार । राप्ती गाउँपालिकाको प्रगन्ना सिँचाई कुलो खन्ने बेलामा ढुंगाजन्यवस्तुको उत्खनन्का लागि पत्रकारदेखि प्रहरी प्रशासनले रकम बाँडेकाे घटना विषयमा नेपाल पत्रकार महासंघ दाङकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक विज्ञप्ती जारी गरी ढुंगाजन्य वस्तु उत्खनन्का लागि जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधी, पत्रकार लगायतलाई रकम बाँडेको घटना सार्वजनिक भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘घटनाबारे आवश्यक अनुसन्धान गरि दोषीलाई कार्वाही गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौ । कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौ ।’ विज्ञप्तीमा भनिएको छ । घटनाको छानबिनका लागि अध्यक्ष दुर्गालाल केसी संयोजक रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा सन्तोष सुवेदी र उदय बिसी रहेका छन् । समितिले घटनाको सत्यतथ्या छानबिन गरी असार ३१ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी राप्ती गाउँपालिकाले पनि एक बिज्ञप्ती जारी गरी सोही घटनामा प्रहरी प्रशासन, पत्रकार र आफ्ना पालिकाका कर्मचारी पनि संलग्न भएको कुरा सामाजिक संजालमा आएकोले यसको सत्यतथ्य छानविनको माग गरेको छ । पालिका अध्यक्ष प्रकाश बिष्टले आज एक विज्ञप्ती जारी गरेर यस्तो माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे