जग्गा फुकुवाका विषयमा राप्तीका अध्यक्ष विष्टले गरे मुख्यमन्त्री तथा मन्त्रीहरू सँग छलफल



जग्गा फुकुवाका विषयमा राप्तीका अध्यक्ष विष्टले गरे मुख्यमन्त्री तथा मन्त्रीहरू सँग छलफल

भालुवाङ २२ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लामाे समय देखि राजधानी क्षेत्रमा राेक्का रहेको जग्गा फुकुवा गर्ने विषयमा बिहीबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी सहित विभिन्न मन्त्रालयका मन्त्री तथा संसदहरु सँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन् ।

अध्यक्ष विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी सहित अर्थमन्त्री धन बहादुर मास्के, सभामुख तुलाराम घर्ती मगर र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जाेख बहादुर महरा सँग भेटघाट तथा छलफल गरेका हुन् ।

उनीहरुलाई भेट्न अध्यक्ष विष्ट मन्त्रालयमै पुगेका थिए । भेटमा अध्यक्ष विष्टले लामाे समयदेखि जग्गा राेक्का हुदा यस क्षेत्रका नागरिकहरुलाई अत्यन्तै समस्या परेकाे भन्दै यस अघि गठित जग्गा फुकुवा समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यनयनमा ल्याउन आग्रह गरे ।

त्यस्तै उनले बैंक तथा वित्तीय संस्थाहरुले दिने कर्जामा प्रदेश सरकारले २० लाख भन्दा बढी दिन नपाइने व्यवस्था गरेको प्रति आपत्ति जनाउँदै तत्काल त्याे व्यवस्था हटाउन माग गरे ।भेटपछि मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले राेक्का रहेको जग्गा फुकुवा गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

मुख्यमन्त्री चाैधरीले जग्गा फुकुवा गर्नका लागि गठित समितिले प्रदान गरेको प्रतिवेदनका बारेमा अध्ययन तथा छलफल भई रहेकाे भन्दै बजेट अधिवेशनका कारण केही ढिलाे भएको बताए । “बजेट अधिवेशनका कारण त्यस विषय लाई टुङ्गोमा पुर्‍याउन केही ढिलो भयाे त्यो प्रक्रियामै छ”- मुख्यमन्त्री चाैधरीले भने अब छिट्टै निकास निस्कन्छ।

अर्थमन्त्री धन बहादुर मास्केले अब बस्ने क्याबिनेट बैठकले यस विषयको टुङ्गो लगाउने बताए । भेटमा पूर्व पालिका अध्यक्ष नुमानन्द सुवेदी, राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गका अध्यक्ष सुरज खड्का, नागरिक जनदबाब तथा संघर्ष समितिका संयाेजक शंकर गाैतम, गन्ज बहादुर विष्ट,जगत थापा, दाेर्ण जिसी, टंक विष्ट लगायतका व्यक्तहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे