चारबर्ष भित्र राप्ती गाउँपालिकालाई अपाङ्गतामैत्री गाउँपालिका बनाउँछु : अध्यक्ष बिष्ट



चारबर्ष भित्र राप्ती गाउँपालिकालाई अपाङ्गतामैत्री गाउँपालिका बनाउँछु : अध्यक्ष बिष्ट

भालुवाङ २० असार । राप्ती गाँउपालिका अध्यक्ष प्रकाश विष्टले आफ्नै कार्यकालमा पालिकालाई अपाङ्गतामैत्री घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रर्वद्धनका लागि राप्ती गाँउपालिका संग राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको समन्वयात्मक बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले आफ्नो बाँकी चारबर्षे कार्यकाल भित्रै राप्ती गाउँपालिकालाई अपाङ्गतामैत्री गाउँपालिका बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

बैठकमा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश व्यवस्थापक धिरेन्द्र विश्वकर्माले राप्ती गाँउपालिकालाई अपाङ्गतामैत्री बनाउने आधारसहितको प्रस्तावहरु पेश गरेका थिए ।

बैठकमा राप्ती गाँउपालिकाका सबै वडा देखि पालिकासम्म अपाङ्गता भएका व्यक्तिहरुको संजाल निर्माण, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकृत तथ्यांक संकलन र व्यवस्थापन, पालिकाभित्र बन्ने र बनेका भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड अनुसार निर्माण वा पुनःनिर्माण, सबै प्रकारका सेवाहरु र सुचना प्रणालीलाई पहुँचयुक्त बनाउने लगायतका प्रस्तावहरु राखेका थिए ।

त्यसैगरी विश्कर्माले पालिकाका सबै नीतिगत व्यवस्थाहरुलाई अपाङ्गता समावेशी बनाउने, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणको लागि क्षमता विकास गर्ने साथै अपाङ्गतामैत्री गाँउपालिका घोषणाको लागि ३ बर्षे रणनीतिक योजना निर्माण गर्ने लगायतका विषयमा विशेष छलफल भएको थियो ।

बैठकमा गाँउपालिकाका अध्यक्ष विष्टले अपाङ्गतामैत्री गाँउपालिका घोषणाको लागि विशेष योजना बनाई कार्य गर्ने र उक्त कार्यको लागि साझेदारी गर्न राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश तयार रहनुपर्ने बताएका थिए । बैठकमा राप्ती गाँउपालिकाका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु समेत गरी २५ जनाको सहभागीता रहेको थियो ।

प्रदेश परियोजना कार्यदलका सदस्य लक्ष्मीप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वली, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी, शिक्षा शाखा प्रमुख विश्वास विक, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता र गाँउपालिका प्रेस संयोजक तुलबहादुर कंवर मगर लगायतको सहभागीता रहेको थियो । बैठकको सहजीकरण महासंघका परियोजना अधिकृत शिव घर्तीमगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे