एमाले सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरियो, कोशीमा सरकार गठन अन्योल



एमाले सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरियो, कोशीमा सरकार गठन अन्योल

विराटनगर १५ असार । मङ्सिर ४ गतेको चुनावपछि बनेको गठबन्धनमा चार वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले सबै प्रदेशाट बाहिरिएको छ । एमालेसहितको सात दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको हो ।

राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवारलाई मान्न नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बिउँताएपछि एमाले सरकारबाट बाहिरिने क्रम शुरु भएको हो ।

सङ्घीय सरकारबाट गुमाउन थालेको एमाले आज कोशी प्रदेशमा आइपुग्दा सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिएको हो । एमालेले यसअघि वैशाख ११ गते लुम्बिनी प्रदेश, वैशाख १० गते गण्डकी प्रदेश र माघ २६ गते सुदूरपश्चिम प्रदेशमा सरकार गुमाएको थियो ।

शुरुवातदेखि नै मधेश प्रदेशमामा जनता समाजवादी पार्टी (जसपा) तथा बाग्मती र कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । यी तीन वटा प्रदेशमा पनि एमालेले मन्त्रीहरू गुमाएको छ ।

यसैबीच मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि कोशी प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल देखिएको छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको गठबन्धनसँग ४६ मत छ । कांग्रेस, माओवादी केन्द्रसहितका दलहरू रहेको अर्को गठबन्धनसँग ४७ मत छ ।

तर माओवादीका एक जना सांसद सभामुख रहनुभएकोले उहाँले बराबर मत झरेको अवस्थामा मात्रै मतदान गर्न पाउनुहुनेछ । आवश्यक परे सभामुखलाई राजीनामा गराएर आफ्नो पक्षमा बहुमत पुर्‍याउनेबारेमा पनि गठबन्धनमा छलफल चलेको छ ।

तर एमालेका उपसभामुख उपस्थित नभएमा ज्येष्ठ सदस्यका रूपमा कांग्रेसकै सांसदले सभामुखको भूमिका निभाउनुपर्ने अवस्था आउने जोखिम रहन्छ ।

दुवै पक्षमा बहुमत नजुटे कोशी प्रदेशसभा मध्यावधि चुनावतर्फ धकेलिन सक्ने सम्भावना पनि रहेको कतिपय जानकारहरू बताउँछन् । तर एमाले नेतृत्वको सरकारमा रहेको राप्रपालाई आफ्नो गठबन्धनमा फर्काउन विपक्षी गठबन्धनका दलहरू प्रयास गरिरहेका छन् ।

मुख्यमन्त्री पदमुक्त भएको पत्र  प्रदेश प्रमुखको कार्यालयमा,  नयाँ सरकार गठनका लागि आह्वानको तयारी

यता कोशी प्रदेशको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको  कार्यालयलाई  पठाएको छ। शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वास गुमाएको पत्र पठाएको हो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्दा  ४६ मत मात्रै पाए । ९३ सदस्यीय  प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । शुक्रबार मुख्यमन्त्रीको प्रस्तावपछि मत विभाजन हुँदा उनको पक्षमा ४६ र विपक्षमा  ४३ मत पर्‍यो ।

जसपा सांसद  निर्मला लिम्बू र प्रतिपक्षी दलका दुई सांसद अनुपस्थीत रहे । मुख्यमन्त्रीले प्रदेशसभाको विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयको पत्र आइसकेको बताए । पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहेको उनले बताए । प्रदेश प्रमुख निकट स्रोतका अनुसार  आज नै प्रदेश प्रमुख  पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे