मनसुनजन्य विपत् प्रतिकार्यको तयारीमा जुट्न प्रजिअहरुलाई मुख्यमन्त्री चौधरीको आग्रह



मनसुनजन्य विपत् प्रतिकार्यको तयारीमा जुट्न प्रजिअहरुलाई मुख्यमन्त्री चौधरीको आग्रह

देउखुरी १२ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपद् प्रतिकार्यको लागि प्रदेश भित्र रहेका सबै अंग परिचालनका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको सहयोग तथा संयोजनमा नेपाली सेनाको मध्यपश्चिम पृतना हेटक्वाटरले आज मंगलबार दाङ—देउखुरीको राप्ती नदीमा सञ्चालन विपत् व्यवस्थापन सम्बन्धी एकीकृत हातेमालो अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

उनले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न बजेटको अभाव हुन नदिने दावी गरे । ‘खोज तथा उद्धारको लागि चाहिने सामग्री के के हो ? के के चाहिन्छ ? त्यसको लिस्ट बनाउनूस् । प्रदेश सरकारले बजेट उपलब्ध गराउँछ’, मुख्यमन्त्री चौधरीले भने । ,‘विपद् आउनलाई रोक्न त सकिँदैन । तर यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ । यसमा हामी प्रतिबद्ध छौँ, मुख्यमन्त्री चौधरीले भने ।

लमही नगरपालिका वडा नं. ६ मध्यनगर स्थित राप्ती नदीमा पानीजन्य विपद्को एकीकृत रूपमा हातेमालो अभ्यास गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कृतिम घटना अभ्यास गरेर आफ्नो क्षमता प्रदर्शन गरेका हुन् । लुम्बिनी प्रदेशमा आइपर्ने जस्तोसुकै विपद्को सामना गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको जनाउ दिइएको छ ।

यता नेपाली सेना मध्यपश्चिम पृतनाका पृतनापती यामप्रसाद ढकालले विपद् प्रतिकार्य गर्न एकीकृत अभ्यास जरुरी रहेको बताए । उनले तीनवटै सुरक्षा निकाय परिचालन हुँदा विपद् प्रतिकार्य सफल हुनसक्ने र यसका लागि समुदायका नागरिकहरूको समेत सहयोगको आवश्यकता पर्ने पनि बताए ।

यस्तै नेपाली सेनाका सहायक रथि रविन्द्र खत्रीले लुम्बिनी प्रदेश बाढी र पहिरोजन्य विपद्को जोखिममा रहेको भन्दै विपद् व्यवस्थापनमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए । अब विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको बारेमा विद्यालयस्तरमा शिक्षा सचेतना अभियानको आवश्यकता परहेको बताए । ‘विपद्को बारेमा विद्यालयमा पढाइ हुनुपर्छ । त्यो ढंगले यसको बारेमा शिक्षा सचेतना अभियान चलाइनुपर्छ’, उहाँले भने, ‘तीन तहकै सरकारले यसमा चासो दिँदा उपलब्धी राम्रो आउने थियो, उनले भने । महारथी खत्रीले जोखिम उत्थानशील समाज निर्माण गर्न आवश्यक रहेको भन्दै उनले विनाश र विपद् ल्याउन नहुने बताए ।

लुम्बिनी प्रदेश सरकारको संयोजनमा प्रदेशभित्र रहेका सरोकारवाला निकायहरुको सहभागितामा विपत् व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यास हातेमालो अभियान सञ्चालन गरिएको छ । अभ्यास हातेमालो अभियानमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, नेपाली सेनाको मध्यपश्चिम पृतना हेटक्वाटर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्दाबासिनी बाहिनी, सरकारी गैरसरकारी तथा मानवीय संस्थाहरु, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

अभियानको क्रममा विपत् विज्ञहरुबाट व्यवस्थापन सम्बन्धी प्रशिक्षण, विपत् सम्बन्धी टेवल टक्ल एक्ससाइज, विपत् प्रतिकार्य सम्बन्धी नमूना अभ्यास, विपत् व्यवस्थापन सम्बन्धी क्षमता प्रदर्शनी गरिएको थियो । एकीकृत अभ्यास हातेमालो प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डे लगायत सुरक्षा निकायका प्रमुख व्यक्तिहरू गरी सयौँको उपस्थितिमा रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे