लुम्बिनी प्रदेशले आज ४० अर्बकाे बजेट ल्याउँदै



लुम्बिनी प्रदेशले आज ४० अर्बकाे बजेट ल्याउँदै

भालुवाङ १ असार । लुम्बिनी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन्।

बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेटको आकार घट्ने छ। सरकारले झण्डै ४० अर्व बरावरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। चालु आर्थिक बर्षमा ४२ अर्ब बरावरको बजेट थियो।

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ। चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ।

चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट थियो। अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ। सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो। आगामी आर्थिक वर्षमा पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ।

समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो। आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ। विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो। आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ।

बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ। रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ।

जेठ २६ मा नीति तथा कार्यक्रम पेश गरेको सरकारले त्यसकै आधारमा बजेट ल्याउन थालेको हो। प्रदेश सरकारले चालु आर्थिक बर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो। तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि-बजेटमा छलफल भइरहेको थियो।

विगतको बजेटमा २० प्रतिशत कटौती गर्दा ३४ अर्ब हाराहारीमा बजेट आउने गरी तयारी गरिएपनि सांसदहरुको चित्त बुझाउन स्रोतबिनाको ठूलो आकारको महत्वाकांक्षी बजेट आउन लागेको कर्मचारीकै भनाइ छ।

यसअघि आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले गतवर्षको बजेटमा २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको जानकारी दिएका ‍थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे