मुलुक गम्भीर सङ्कटमा : महामन्त्री सिंह



मुलुक गम्भीर सङ्कटमा :  महामन्त्री सिंह

दाङ ३० जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले आज मङ्गलबार आयोजना दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै महामन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका अधिकारलाई मास्ने गरी प्रतिगमनकारी शक्तिहरू सदन र सडकमा शक्ति केन्द्रित गर्दै राजतन्त्र ब्युँताउने प्रयासमा लागिरहेकाले प्राप्त उपलब्धी गुम्ने खतरामा रहेको बताए । उनले ‘राजतन्त्र पक्षधर शक्तिहरू देखि अहिले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद सम्मले नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्दै मुलुकको स्वाधीनता सँगै जनताका प्राप्त उपलब्धीलाई मास्ने खेलमा लागेका छन्, महामन्त्री सिंहले भने ।

उनले अहिले सदनमा समेत राजावादी, प्रतिगमनकारी र बैदेशिक शक्तिको योजनामा परिचालित दल वा व्यक्तिहरू हाबी हुँदै गइरहेकाले अहिले मुलुक चौतर्फी घेराबन्दीमा परिरहेको बताए । ‘सरकारले भ्रष्टाचारको सवालमा केही गर्ने प्रयास गरिरहे पनि उक्त कदममा ब्रेक लगाउन बाह्य शक्तिकेन्द्रको चलखेल समेत सुरु हुन थालेको छ’ उनले भने- ‘मुलुकको स्वाधीनता, प्राप्त उपलब्धिको रक्षाका लागि वर्तमान सरकारले दरो गरी उभिनुपर्दछ ।’ महामन्त्री सिंहले भने ।

कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा र प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे