दाङकाे अमेलियाबाट बाघको छाला र हड्डी सहित ४ जना पक्राउ



दाङकाे अमेलियाबाट बाघको छाला र हड्डी सहित ४ जना पक्राउ

दाङ २७ जेठ । दाङको देउखुरीमा बाघको छाला र हड्डी सहित चार जना पक्राउ परेका छन्।

मोटरसाइकलको पछाडि सवार रोल्पाको माडी गाउँपालिका वडा नं. ३ का २८ बर्षीय अमलाल घर्ती मगरले समातेको प्लाष्टिकको थैलो भित्र बाघको छाला बरामद भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल दाङको राजपुर गाउँपालिका – ७ का ३९ बर्षीय बीरबहादुर पुनले चलाएका थिए । जिल्ला सुचना अधिकारी डिएसपी राजन गौतमका अनुसार संग संगै आइरहेको भारतीय नम्बर प्लेटको यू ७८ एल ७०६९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा बोरामा लुकाइ लैजान थालेको १४१ वटा बाघको जस्तो देखिने हड्डी बरामद भएको छ ।

उक्त मोटरसाइकल राजपुर – ७ का ४० बर्षीय आशाराम बिकले चलाएका थिए भने स्थानीय २५ बर्षीय देबबहादुर बिक हड्डीसहितको बोरा समातेर पछाडि सवार थिए । बरामद बाघको छालाको टाउकोदेखि पुच्छरसम्मको लम्बाइ नौ फिट ६ इञ्च र चौडाइ पाँच फिट दश इञ्चको रहेको छ । बरामद हड्डीको तौल आठ किलो चार सय ३० ग्राम रहेको डिएसपी गौतमले जानकारी दिए । नियन्त्रणमा लिइएका ब्यक्ति तथा बरामद बाघको छाला र हड्डीहरु आइतबार मात्रै वन कार्यालयलाई बुझाइने भएको छ ।

उनीहरुलाई प्रहरीले लमही नगरपालिका वडा नं. ८ अमेलिया क्षेत्रबाट शुक्रबार बिहान पौने १२ बजेतिर पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल इप्रका अमेलियाबाट प्रहरी निरीक्षक सुरेन्द्रबिक्रम बतौलाको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे