प्रधानमन्त्री प्रचण्डले बिहीवार लुम्बिनी केबलकारको उद्घाटन गर्ने
रुपन्देही २४ जेठ । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोली बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आईएमई समूहको लगानीमा बनेको केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो ।
लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गएकाे जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो । सप्ताह व्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिएका थिए । भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।
केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको दुई प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म तीन किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आईएमई समूहले काठमाण्डाैकाे चन्द्रागिरि र भर्खरै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । उनले भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताए ।
केबलकार र रिसोर्टसहितको आयोजनाको लागत पाँच अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । ‘टप स्टेशन’ मा पर्यटकका लागि ‘भेज’ र ‘नन भेज’ छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काई वाक, जीप लाइन निर्माणको क्रममा छन् । ‘मोनोकेबल डिट्याचेबल सिस्टम’ का २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई आउजाउ गराउन सक्छ ।
‘बटम स्टेशन’ समुद्री सतहबाट दुई सय ३० मिटर र ‘टप स्टेशन’ नाै सय ४० मिटरको उचाइमा रहेको छ । ‘बटम स्टेशन’ बाट १० मिनेटको यात्रामै ‘टप स्टेशन’ मा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै ‘टप स्टेशन’ मा साढे तीन अर्ब रुपैयाँकाे लागतमा पाँचतारे होटललगायतका संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।