बजेट र प्रचारप्रसारको अभावमा धानखोलाको नागेश्वर गुफा ओझेलमा



भालुवाङ २० चैत ।  लुम्बिनी प्रदेशको राजधानीस्थल दाङ—देउखुरीको भालुवाङ बजारदेखि करिब १५ किलोमिटरको दुरीमा पर्ने एउटा ठाउँको नाम हो धानखोला । समान्य गाडीबाट आधा घण्टाको यात्रापछि पुग्न सकिने उक्त धानखोला बजार नजिकै पर्ने नागेश्वर गुफा ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको एक पर्यटकीय स्थल हो ।

ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको नागेश्वर गुफा पछिल्लो समय बजेट र प्रचार—प्रसारको अभावमा ओझेलमा परेको छ । लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकाको तीन जिल्लाको संगम धानखोलामा पर्ने नागेश्वर गुफा पछिल्लो समय बजेट र प्रचार—प्रसारको अभावमा ओझेलमा परेको हो ।

लुम्बिनी प्रदेशको तीन जिल्ला दाङ, कपिलबस्तु र अर्घाखाँचीको केन्द्र बिन्दु अर्थात सिमानामा पर्ने उक्त गुफा भित्र विभिन्न देविदेवताहरुको आकृतिहरु देख्न सकिन्छ । पूर्व—पश्चिम राजमार्गको धानखोला बजार नजिकै पर्ने उक्त गुफा सम्म पैदलमार्गद्धारा पाँच मिनेटको समय पुग्न सकिन्छ ।

गुफा सम्म पुग्न गतिलो बाटो र उपयुक्त संरचना नहुँदा तथा बाटोमा होर्डिङबोर्ड समेत नहुँदा स्थानीयलाई समेत यो गुफा कहाँ छ ? भन्ने धेरैलाई थाहा छैन । गुफा संरक्षण तथा प्रचारप्रसारमा राज्यको ध्यान नजाँदा पर्यटकीय सम्भावना रहेर पनि पछि परेको उक्त गुफा संरक्षण समितीका अध्यक्ष रमेश बजगाईले बताए । साथै उक्त गुफाको ब्यापक प्रचार—प्रसार नहुँदा यही दाङ—देउखुरीबासीलाई समेत गुफाको बारेमा थाहा नभएको उनले बताए ।

उक्त गुफाको भित्ताभरि नै विभिन्न देवीदेवताको आकृतिसँगै बाक्लो रुपमा चमेरा देख्न सकिन्छ भने गुफा भित्र प्रबेश गर्न साथ प्राकृतिक बिबिधताले भरीपूणर् मनोरम दृश्यका साथै चिसो अनुभव समेत गर्न सकिन्छ । यो गुफा पूर्व—पश्चिम राजमार्ग बनाउने क्रममा करिब वि.सं. २०३० सालमा पत्ता लागेको थियो ।  धेरैबर्ष पहिले उक्त गुफा रहेको ठाउँलाई शिबराज धाम तीर्थस्थलको रुपमा परिचित रहेको स्थानीय जानकारको भनाई छ ।

उक्त धाममा पुजा गर्न विभिन्न जिल्लाहरुबाट समेत तिर्थ यात्रीहरु आउने प्रचलन थियो । उक्त गुफाको माथि शिबपार्वती बस्ने गरेकोले अहिले पनि उक्त गुफा भित्र शिबपार्वतीको प्राकृतिक शिला मुर्ति समेत रहेको स्थानीय जानकार ज्ञानबहादुर दर्लामीले बताए । उनले बिगतमा उक्त गुफाको संरक्षण नहुँदा कयौँ पूर्वाधारहरु मासिएको बताए । हाल उक्त गुफा रहेको धानखोलामा प्रत्येक बर्ष महाशिबरात्रीमा ठुलो धार्मिक मेला समेत लाग्दै आएको छ । मेलामा देशका विभिन्न ठाउँबाट हजार्रौ तिर्थयात्रीहरु आउने गरेको दर्लामीले बताए ।

गुफा सम्म पुग्न सही बाटो र गुफा भित्र बत्ती नभएको तथा केही ठाउँ सिडी नभएकोले खतराका कारण अवलोकन गर्न पर्यटकहरुले अलि असहज भएको बताउँछन् । गुफा सम्म पुग्न एउटा खोला तर्नुपर्ने अवस्था छ । हाल उक्त गुफा सम्म पुग्न सिडी र खोलामा झुलुङ्गे पुल बनाउने काम भइरहेको छ । तर पनि प्रायप्त बजेट र आवश्यक प्रचारप्रसार नहुँदा ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको उक्त गुफा ओझेलमा परेको स्थानीयको भनाई छ ।

यदि उक्त गुफा सम्म पुग्ने बाटो, सिडी, पुल र आवश्यक संरचना बन्ने हो भने धानखोला बजारलाई पर्यटकीय बजारको रुपमा विकास हुने पूल निर्माण उपभोक्ता समितीका अध्यक्ष तथा स्थानीय होटेल व्यवसाय रमेश बलीको भनाई छ । साथै उहाँले उक्त गुफा सम्म पुग्न संरचना निर्माणका लागि अहिले पालिका र प्रदेशबाट समेत केही बजेट प्राप्त भएपनि त्यो प्राप्यत नभएको बताए ।

पर्यटकीय सम्भावनाका रुपमा रहेको नागेश्वर गुफाको प्रचार-प्रसारसँगै विकास निर्माणका लागि पलिकाको बैठकमा पटक—पटक कुरा उठेको भए पनि ठोस रुपमा कार्यान्वयन भएको छैन । ऐतिहासिक एव पर्यटकिय सम्भावना बोकेको गुफाको विकास गर्नुपर्छ भनेर पालिका सँगै यसक्षेत्रवाट जननिर्वाचित सांसद र मन्त्रीहरु संग समेत कुरा राख्ने काम गरेको तर सवैक्षेत्रवाट हुन्छ भन्ने काम नगर्ने प्रवृतिका कारण अहिले सम्म कुनै ठोस पहल नभएको स्थानीय धानखोलाबासीको आरोप छ ।

यता गढवा गाउँपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले भने आफू निर्वाचित भएदेखि नै उक्त गुफाको संरक्षण तथा प्रचार—प्रसारका लागि सक्रिय रुपमा लागेको बताए । उनले आफ्नै पहलबाट पालिका र वडाबाट समेत केही बजेट विनियोजन गरी आवश्यक संरचना निर्माणको काम भइरहेको बताए । साथै उहाँले उक्त गुफाका लागि आवश्यक संरचना निर्माणका लागि चाहिने बजेट पालिका र वडाबाट मात्र अप्राप्यत हुने भएकोले संघ र प्रदेश सरकार संग पहल गरिहेको बताए ।

यदि उक्त नागेश्वर गुफालाई आवश्यक पर्ने संरचना निर्माणका लागि संघ, प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरी पर्यापर्यटन संग जोड्न सक्ने हो भने धानखोला बजार संगै लुम्बिनी प्रदेशको मात्र नभई सिंङ्गो देश कै एक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरुबाट सरकारका लागि गतिलो आम्दानीको स्रोत बन्ने सकिन्थ्यो की ?

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे