प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणबारे भारतको चासो : मन्त्री शर्मा
काठमाण्डाै ९ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छिन् ।
बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरूसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै मन्त्री शर्माले याे जानकारी दिएकी हुन् । उनले प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् ।
उनले भनिन्, ‘उहाँहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारत भ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छाैँ । सरकारले विस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’
यस्तै मन्त्री शर्माले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन् । उनले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाकाहरूमा पनि सहज आदानप्रदान हुने गरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन् । उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिम कार्ड निकाल्दा सहजता प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताइन् । उनले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरूसँग कुरा राखेको बताइन् । मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरूमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताइन् । भारत सरकार आफूले राखेका मागहरूमा सकारात्मक रहेको उनको भनाइ छ ।