राष्ट्रपति पौडेलद्वारा पार्टीको सदस्यता त्याग, उपराष्ट्रपतिमा ४ जनाकाे प्रतिस्पर्धा



राष्ट्रपति पौडेलद्वारा पार्टीको सदस्यता त्याग, उपराष्ट्रपतिमा ४ जनाकाे प्रतिस्पर्धा

काठमाण्डाै २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्याग गरेका छन् । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

नेता पौडेलले आज आइतवार कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । नेपालको संविधानमा चुनाव, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए उसकाे त्यस्ताे पद स्वतः रिक्त हुने उल्लेख छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

यता यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चार जनाबीच प्रतिस्पर्धा हुने भएकाे हाे । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे