सिसहनियाँमा नारी दिवस मनाइयो, बेलुन बचाउने खेलमा देउखुरी टुडेकी निशा चौधरी प्रथम



भालुवाङ २४ फागुन । दाङ देउखुरीको सिसहनियाँमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् लक्ष्मी महिला विकास सहकारी संस्थाको सहआयोजनामा दिवस मनाइएको छ ।

दिवसका अवसरमा हाजिरीजवाफ, सियो धागो, बेलुन बचाउने र घैंटा फोड प्रतियोगिता सम्पन्न भएका छन् । जस अनुसार हाजिरीजवाफ प्रतियोगितामा जनज्योती महिला समुह पहरुवा प्रथम, सिर्जनशील महिला समुह भानपुर दोस्रो र मिलन महिला समुह लठ्ठहवाले तेस्रो स्थान हासिल गरेका थिए । त्यसै गरि सियो धागो खेलमा लठ्ठहवा बाल समुहकी रुपिना चौधरी र अप्सना चौधरी प्रथम, जनज्योती महिला समुह पहरुवाकी सिता चौधरी र लक्ष्मी चौधरी दोस्रो तथा जागृती महिला समुह बड्का सिसहनियाँकी प्रतिभा चौधरी र निरुता चौधरीले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यस्तै बेलुन बचाउने खेलमा देउखुरी टुडे डटकमकी निशाकुमारी चौधरी प्रथम, सगरमाथा महिला समुहकी मंगला चौधरी दोस्रो र सिर्जनशील महिला समुहकी प्रेमा चौधरीले तेस्रो स्थान हासिल गरेका थिए । भने घैंटा फोड प्रतियोगितामा जागृती महिला समुह बड्का सिसहनियाँकी चिन्तुली चौधरीले प्रथम स्थान हासिल गरेका थिए । संस्थाकी अध्यक्ष कुशुम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख तथा संविधान सभा सदस्य सुशिला चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकारका लागि सवै श्रमिक महिलाहरु एक हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ की सदस्य सावित्री दमाई, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जिवनकुमारी जिसी, सर्वोदय मावि सिसहनियाँका शिक्षक हंशराज चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतको उपस्थिती रहेको थियो । संस्थाकी व्यवस्थापक पुर्णिमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शान्ति चौधरीले गरेकी थिइन् । यस्तै राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा पनि ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरी दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे