विद्यार्थीहरूलाई व्यवाहारिक शिक्षा दिन आवश्यक छ : अध्यक्ष विष्ट



सिसहनियाँ २ फागुन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई व्यवाहारिक शिक्षा दिन सुझाव दिएका छन् ।

सर्वोदय मावि सिसहनियाँको मंगलबार भएको ६३ आ‌ैं वार्षिकोत्सब कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले व्यावाहारिक शिक्षाले मात्र गाउँपालिका सम्वृद्व हुने बताए । त्यस्तै उनले विद्यार्थीहरूलाई शारीरिक व्यायम गराउन आवश्यक रहेको बताए ।

विद्यार्थीहरूलाई गाडीमा खादेर ल्याउनु भन्दा पैदल हिडेर ल्याउन सके विद्यार्थी शारीरिक रूपमा स्वस्थ हुने बताएका थिए । त्यस्तै उनले विद्यार्थीलाई घरमा पढ्न मात्र नलगाएर घरमा पनि काम गर्न र आमाबुवालाई सघाउन प्रेरित गर्न अनुरोध गरेका थिए । यसै बिच उनले गाउँपालिका सफा सुन्दर पालिका बनाउन विद्यार्थीहरूलाई सरसफाई अभियान चलाउन सुझाव समेत दिएका छन् ।

शिक्षक अभिभावक संघका अध्यक्ष रोहनप्रसाद चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, नेपाली कांग्रेस विद्याशरण चाैधरी, एमाले मदन अधिकारी, नेकपा माओवादी केन्द्रका सुरेश चाैधरी, जनमोर्चाका ठाकुरप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजेन्द्र सिंह ठकुरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण गरिनुका साथै उत्कृष्ट शिक्षकको रूपमा विनोद गुप्तालाई सम्मान गरिएको थियोे भने कार्यक्रमको बिचबिचमा साँस्कृतिक प्रस्तुति राखिएको थियो । कार्यक्रममा विद्यार्थीको वार्षिक प्रगति विवरण विद्यालयका प्रधानाध्यापक गोविन्द केसीले प्रस्तुत गरेका थिए ।

सहायक प्रधानाध्यापक गणेश प्रसाद शर्माको स्वागत मन्तव्य तथा विद्यार्थी सिर्जना थापा लगायतको टिमको स्वागत गीतबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक शोवबहादुर मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे