लुम्बिनीमा प्रदेश प्रहरी सेवा कानुन बन्यो



लुम्बिनीमा प्रदेश प्रहरी सेवा कानुन बन्यो

दाङ २६ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ । प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो ।

नेपालको संविधानको धारा २६८ को उपधारा २ बमोजिम संविधानको अनुसूची ६ मा उल्लेख गरिएको प्रदेशको अधिकारअन्तर्गत क्रम सङ्ख्या १ मा व्यवस्था भएबमोजिम प्रदेशमा प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारले प्रदेश प्रहरी कानुन बनाएको हो।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी अधिकृत राधा रोक्काले प्रदेशमा प्रहरी सेवासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८ लुम्बिनी प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारको आफ्नै प्रहरी सेवा गठन र सञ्चालन गर्ने मार्ग प्रशस्त भएको बताए। प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण, रोकथाम र अनुसन्धान तथा मानव अधिकार संरक्षणका लागि प्रदेश प्रहरी सेवा गठन तथा सञ्चालन गर्ने कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश प्रहरी ऐन बनाइएको रोक्काले बताए। लुम्बिनी प्रदेशमा प्रहरी सेवालाई पूर्ण रूपले जनमुखी, व्यावसायिक र प्रभावकारी बनाउने लक्ष्यसाथ प्रदेश प्रहरी ऐन निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे