लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस आज मनाइदै, धेरै कानून बनाउने पहिलो प्रदेश



लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस आज मनाइदै, धेरै कानून बनाउने पहिलो प्रदेश

भालुवाङ २१ माघ । लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी दाङ—देउखुरी स्थित राप्ती गाउंपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो ।

यसैबीच आज मनाउन लागेको प्रदेश स्थापना दिवसको सम्पूर्ण तयारी समेत पुरा भएको लुम्बिनी प्रदेश संसद सचिवालयले जनाएको छ । जस अन्र्तगत प्रदेश प्रमुख अमिक शेरचनलाई दिउँसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस मूल समारोह शुरु हुने प्रदेशसभा सचिव दुर्लभ पुनले जानकारी दिए ।

कार्यक्रममा झाँकी प्रदर्शन, बुटवलमा अस्थायी राजधानी रहँदा भवन उपलब्ध गराउने संघसंस्थालाई अभिनन्दन, शुभकामना मन्तव्य र स्थापना दिवसको अवसरमा प्रदेश सरकार र प्रदेशसभा बीच भएको मैत्रीपूणर् भलिबल प्रतियोगिताका सहभागीलाई प्रमाणपत्र वितरण हुने सचिव पुनले जानकारी दिए ।

प्रदेशसभाको पहिलो कार्यकालमा लुम्बिनी प्रदेशसभाले सबैभन्दा धेरै कानून बनाउन सफल भएको सचिव पुनले बताए । लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै अर्थात ७२ वटा विधेयक सभाबाट पारित गरेको छ ।

अहिले सम्म मधेस प्रदेशले ६१ वटा विधेयक दर्ता गरेकामा ५५ वटा पारित गरेको छ भने गण्डकी प्रदेशसभामा ६२ वटा विधेयक दर्ता भएकामा ५९ वटा बिधेयक प्रमााणिकरण भइ कार्यान्वयनमा ल्याएको छ ।

कर्णाली प्रदेशसभामा ६४ वटा विधेयक दर्ता भएकामा ५३ वटा प्रमाणिकरण भएका छन् । बागमती प्रदेशले यो अवधिमा ७० वटा विधेयक सभाबाट पारित गरिसकेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा दर्ता भएका ६७ विधेयकमध्ये ६५ वटा सभाबाट पारित भइसकेका छन् भने ६३ वटा प्रमाणिकरण भएका छन् । प्रदेश १ सभामा ६५ विधेयक दर्ता भएकोमा ६२ वटा पारित भएका छन् ।

प्रदेशले एकल अधिकारका कानुन बनाए पनि साझा अधिकारसम्बन्धी कानुन निर्माणमा भने जटिलता देखिएको छ । संविधान अनुसार प्रदेशका २१ वटा एकल अधिकार छन् । संघ र प्रदेशको २५ वटा साझा अधिकार र तीनै तहले उपयोग गर्ने गरि १५ वटा साझा अधिकार छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे