नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारी



काठमाण्डाै १६ माघ । सर्वोच्च अदालतको आदेशअनुसार नयाँ नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा फर्कने पहल थालेका छन् ।

हिजो नागरिकता लिएर पार्टी सभापतिको जिम्मेवारीमा फर्किए लगत्तै  राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई फेरि सरकारको पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने निर्णय गरेको छ । उनलाई तत्कालै सरकारको पुरानै जिम्मेवारीमा फर्काउने या नफर्काउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो कुराकानी भए पनि निर्णय भइसकेको छैन ।

शुक्रवार सर्वोच्च अदालतले पुरानो नागरिकतालाई मान्यता नदिएपछि लामिछानेले हिजो काठमाण्डौ जिल्ला प्रशासनबाट नागरिकता लिएका छन् । नयाँ नागरिकता लिएर पार्टी सभापतिको जिम्मेवारीमा फर्के लगत्तै हिजो बालुवाटार पुगेका लामिछानेले आफूलाई पुनर्बहाली गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेका छन् । तर नागरिकता मुद्दा सल्टिए पनि पुरानै नागरिकताका आधारमा राहदानी लिएकोबारे लामिछाने माथि प्रहरी अनुसन्धान कायमै छ ।

लामिछानेले नयाँ नागरिकता लिएसँगै राहदानी विभाग पुगेर पुरानो नागरिकताका आधारमा लिएको राहदानी फिर्ता गरिसकेका छैनन् । राहदानीको विवाद सुल्झिएपछि मात्रै पुरानो जिम्मेवारीमा फर्कन दबाब भए पनि लामिछाने तत्कालै उपप्रधान र गृहमन्त्रीको जिम्मेवारीमा फर्कने तयारीमा छन् ।

लामिछानेले नागरिकताको मुद्दा मिलेको र केही दिनमै राहदानीको विषय पनि सल्टाउने विश्वास दिलाउन खोजेका छन् । यसबारे ओली र प्रचण्डबीच थप छलफल भएपछि मात्रै निर्णय हुनेछ । अदालतको आदेशपछि नयाँ नागरिकता लिएका लामिछाने गैर सांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितवन क्षेत्र नम्बर २ बाट उपचुनाव जितेर आउने योजनामा छन् । उपचुनाव कहिले हुन्छ भन्ने चाहिँ यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे