लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै



लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै

भालुवाङ ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सासदहरूकोसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

८७  सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । सत्तापक्षको स्पष्ट बहुमत देखिन्छ। प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ ।

अहिले दुई जना विनाविभागीय मन्त्री छन् । विश्वासको मत पश्चात् दुई जना मन्त्रीको जिम्मेवारी तोकिने र नयाँ मन्त्रीहरूसमेत नियुक्त गर्ने तयारी छ ।

प्रदेशमा मन्त्रालयको संख्या घटाउने मनस्थितीमा मुख्यमन्त्री गिरी पुगेका छन् । पहिलो मन्त्रीपरिषद् बैठकबाट एउटा मन्त्रालय घटाउँदै १२ मन्त्रालय बनाउने निर्णय भएको थियो। तर, फेरी दुई वटा मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी गरिएको स्रोतको दावी छ ।

मुख्मन्त्री गिरीलाई समर्थन गरेका दलहरूलाई मन्त्रालय बाँडफाँटमा भने सकस देखिन्छ । साना राजनीतिक दलले समेत दुई वटा मन्त्रालयमा दावी गरेपछी सत्ता समीकरण मिलाउन झनै चुनौती बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे