सर्वहितले विद्यालय र निलसागरलाई डस्टवीन र खाद्यान्न सहयोग गरेर स्थापना दिवस मनायो



भालुवाङ ४ माघ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाले दशाैं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

संस्थाले बुधबार राप्ती गाउँपालिका ४ माैरीघाट श्रीनारायण चोकमा रहेको आफ्नै कार्यालयमा स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष जागेन्द्र चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि संस्थाले स्थापना दिवस मनाएको हो ।

संस्थाले राप्ती गाउँपालिकाका ६ वटा विद्यालयलाई फोहोर फाल्ने डस्टवीन र निलसागर सेवा आश्रमलाई खाद्यान्न र डस्टवीन प्रदान गरेको छ । जस अनुसार रात्री प्रावि माैरीघाट, जनज्योती आधारभुत विद्यालय नयाँगाउँ, जनता प्रावि खुरूरीया, हंशेश्वर प्रावि भगवानपुर, गंगा प्रावि शान्तिपुर, तल्लो घोषखोला प्राविलाई २/२ वटा डस्टवीन प्रदान गरिएको थियोे । भने राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमलाई ५० केजी चामल, २५ केजी दाल, १० लिटर खाने तेल र २ वटा डस्टवीन प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाको स्थापनाकाल देखि समाचार, सुचना प्रसारण गरेर महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्तालाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरी, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार दयाराम चाैधरी, हंशेश्वर प्राविका प्रअ बासुदेव ज्ञवाली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी कोषाध्यक्ष खेमादेवी चाैधरीले संस्थाको अर्ध वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी उपाध्यक्ष निर्मला चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाकी लेखा समिति सदस्य मेनुका गिरीले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे