सूचना प्रविधिमा नागरिककाे सहज पहुँच पुर्‍याउनु मेराे प्राथमिकता : मन्त्री शर्मा



सूचना प्रविधिमा नागरिककाे सहज पहुँच पुर्‍याउनु मेराे प्राथमिकता : मन्त्री शर्मा

काठमाण्डाै ३ माघ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई नागरिककाे सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन् ।

मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा नागरिककाे सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन् । उनले सार्वजनिक सङ्घ–संस्थानहरूलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन् । सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनकाे भनाइ छ ।

उनले भनिन्, ‘सूचना, सञ्चार र प्रविधिमा नागरिककाे सहज पहुँच पुर्‍याउने कुरा पहिलाे प्राथमिकता । हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक सङ्घ–संस्थानमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ ।’

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना, प्रविधि सहज र सुलभ ढङ्गले पुग्नुपर्नेमा जोड दिइन् । उनले सबै काम प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गरिन् । सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे