लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, आजै सभामुख र उपसभामुख चयन गरिने



लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, आजै सभामुख र उपसभामुख चयन गरिने

भालुवाङ ३ माघ । लुम्बिनी प्रदेशसभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ । जसका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक राखिएको छ । नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको सभामुख र उपसभामुख चयन हुन थालेको हो ।

आज सभामुख र उपसभामुख चयनको लागि लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यहरूले प्रस्ताव गर्ने, समर्थक सदस्यहरूले समर्थनगर्ने र उम्मेदवारीको प्रस्तावहरू माथिसंक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

सभामुखको लागि एक जना र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएको हो । घर्ती नै लुम्बिनी प्रदेशसभाको सभामुख चयन हुनेछन् । उनको सभामुखमा एकल उम्मेदवारी परेको छ ।

सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल छन् भने, राप्रपा संसदीय दलका नेता आशिष चौधरी समर्थक बसेका छन् । उपसभामुखमा सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको मनोयन दर्ता भएको छ । उनको प्रस्तावकमा माओवादी नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारू र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।

यस्तै, उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मनोनयन दर्ता भयो । पाठकको प्रस्तावकमा कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य वसीउद्दीन खाँ र प्रदेश सभा सदस्य राजु खनाल समर्थक छन् । यस्तै उपसभामुखमा नागरिक उन्मुक्ती पार्टीकी निर्मलादेवी थारुको मनोयन दर्ता भएको छ । उनको प्रस्तावकमा सचेतक नरमायाँ ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे