विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा सिसहनियाँ र भालुवाङ बजारमा दिप प्रज्वलन
भालुवाङ २ माघ । पोखराको सेती खोंचमा भएको यती एअरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सोमबार साँझ दाङ देउखुरीको राप्ती गाउँपालिका सिसहनियाँ र भालुवाङ बजारमा दिप प्रज्वलन गरिएको छ ।
राप्ती प्रेस मञ्चले सिसहनियाँ बजारमा र आशाका किरण संस्थाले भालुवाङ पुल्चोकमा दीप प्रज्वलन गरी मृतआत्माको चिरशान्तिको कामना गरेको हो । कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परिवारजनमा धर्यधारण गर्ने शक्तिका लागि प्राथना समेत गरेका छन् । उनीहरु विमान दुर्घटनाले मुलुकमा भयानक मानबीय क्षति भएको बताएका छन् । सरकारले हवाइ दुर्घटना रोक्न ठोस कदम चल्न आवश्यक रहेको सुझाव समेत दिएका छन् । हवाई मार्ग असुरक्षित हुनुको कारण पत्ता लगाउन उनीहरुले सरकारसंग माग समेत गरेका छन् ।
सिसहनियाँमा आयोजित कार्यक्रममा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् प्रमुख संरक्षक महेश रिजालको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा सदस्य गोविन्द कुवर क्षेत्री लगायतका वक्ताहरुले शोक मन्तव्य व्यक्त गरेका थिए । मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने विषयवस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए । उता भालुवाङमा आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमानमा अहिलेसम्म ७० जनाकाे मृत शरीर जम्मा गरिएको छ भने २ जनाको खोजी कार्य जारी रहेको छ।

