सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, भोली छुट्दै



सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, भोली छुट्दै

काठमाडौँ २८ पुस । जबरजस्ती करणी अभियोगमा केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।

सन्दीपको निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको उनका वकिल मुराहरी सापकोटाले जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए ।

काठमाडौँ जिल्ला अदालतले गत १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सन्दीपले उच्च अदालत पाटनमा बेरितको आदेश बदर गरिपाउँ भनेर निवेदन दिएका थिए ।

बिहीबार सुनुवाइ भएसँगै अदालतले सन्दीपको पक्षमा आदेश गरेको हो । लामिछानेलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले अब बाहिरै रहेर मुद्दा लड्न पाउने छन्। तर उनलाई विदेश जान रोक लगाइएको छ ।

एक किशोरीले सन्दीपलाई बलात्कार आरोप लगाएसँगै उनलाई प्रहरीले २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भोलि छुट्ने भएका छन्। बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन् । आज सरकारी कार्यालयहरु बन्द भइसकेको हुँदा भोली धरौटी बुझाउने प्रक्रिया पूरा गरेर उनी रिहा हुने अदालत स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे