प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा, माओवादीले बनायो वार्ता टोली, नेसपाले आज बनाउँदै
काठमाडौं २४ पुस । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् ।
भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष छन् । नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । त्यसबेलामा भएको सहमतिअनुसार नै पार्टी एकता प्रक्रिया अघि बढाउन लागिएको नेताहरुले बताएका छन् ।
यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।