मध्य तराईमा शीतलहर, लगातारको बाक्लो हुस्सु कुहिरोले जनजीवन प्रभावित



मध्य तराईमा शीतलहर, लगातारको बाक्लो हुस्सु कुहिरोले जनजीवन प्रभावित

काठमाण्डाै २१ पुस । चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ ।

मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् । नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ।

दुई घण्टाभन्दा बढी घाम  नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताए ।

मध्य तराईमा न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्ममा झरेको छ । अहिले तराईका जिल्लासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका ठाउँमा अहिले लागेको हुस्सु केही घण्टापछि हट्दै जाने र घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए । तर, तराईका जिल्लामा भने दिउँसोसम्म नै हस्सु कुहिरो लाग्ने अनुमान छ।

काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो हिजोकोभन्दा एक डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे