को बन्ला लुम्बिनी प्रदेशको मुख्यमन्त्री ? एमाले र माओवादीमा रस्साकस्सी



को बन्ला लुम्बिनी प्रदेशको मुख्यमन्त्री ? एमाले र माओवादीमा रस्साकस्सी

भालुवाङ १९ पुस । लुम्बिनी प्रदेशसभाका सदस्यले शपथ लिएसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएको छ । प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्रै रहेको प्रतिस्पर्धा संसदीय दलको नेता चयनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच देखिएको छ ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालले पोलिटब्यूरो सदस्य एवं प्रदेशका सह-इन्चार्ज लीला गिरीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले डिल्लीबहादुर चौधरी र माओवादीले जोखबहादुर महरालाई संसदीय दलको नेता बनाएको छ ।

प्रमुख तीन पार्टीले संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्रीका लागि रस्साकस्सी चलेको छ । विशेष गरी एमाले र माओवादी संसदीय दलका नेता मुख्यमन्त्रीका लागि ‘लबिङ’ गरिरहेका छन् ।

लुम्‍बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण समारोहमा आएका एमाले महासचिव शंकर पोखरेलले लुम्बिनीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताएका थिए । पोखरेलले भने अनुसार नै भयो भने एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्नेछन् ।

गत साता माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकार गठनका विषयमा छलफल भएको थियो ।

जसमा प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा एमाले, लुम्बिनी र सुदूरपश्चिममा माओवादी र मधेश प्रदेशमा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने विषयमा कुराकानी भएको थियो ।

लुम्बिनी माओवादीको भागमा पर्‍यो भने संसदीय दलका नेता महरा मुख्यमन्त्री हुनेछन् । प्रदेशका एमाले नेताहरू भने ठूलो दलको हैसियतले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएका छन् ।  चुनावअघि एमाले केन्द्रले मुख्यमन्त्रीको आश्वासन दिएकाले गिरी प्रदेश सभामा आएका थिए ।

माओवादी संसदीय दलका नेता महरा पनि आफू मुख्यमन्त्रीकै लागि प्रदेशमा उठेको बताउँदै आएका छन् । अध्यक्ष दाहालले पनि आफूलाई मुख्यमन्त्रीको आश्वासन दिएकाले ढुक्क रहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सभामा तीन स्वतन्त्र सहित १० दलका ८७ सांसद छन् । जसमा एमालेका २९, कांग्रेसका २७, माओवादीका नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका र नागरिक उन्मुक्ति पार्टीका चार-चार, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तीन-तीन तथा नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन् ।

सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । संघीय सरकारलाई समर्थन जनाएका एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमत पार्टी जोड्दा ५२ सांसद पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे