गगन थापाको बैठक स्थलबाट समर्थकले समाते दुई प्रहरी, संस्थापन पक्षले निगरानी गराएको आरोप



गगन थापाको बैठक स्थलबाट समर्थकले समाते दुई प्रहरी, संस्थापन पक्षले निगरानी गराएको आरोप

काठमाडौं ६ पुस । नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालित गराइएको आरोप लागेको छ ।

कांग्रेस महामन्त्री समेत रहेका थापा बैठकका लागि गएको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए । त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचय पत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन् ।

तीमध्ये एक जनाको साथमा नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाको परिचय पत्र भेटिएको थापाका सहयोगी सबिन मुडभरीले अनलाइनखबरलाई बताए । तीमध्ये एकजना जवान र अर्का प्रहरी नायब निरीक्षक भएको खुलेको छ ।

प्रहरीले सुरक्षा दिने काम मात्रै गर्छ, यदी कोही पक्राउ परेको भए व्यक्तिकै जिम्मेवारी हुन्छ – प्रहरी प्रवक्ता

दुई जनालाई घेरा हालेपछि अन्य केही व्यक्तिहरु भागेको उनले बताए । ‘अपराह्न गगन दाइको गाडीमा पनि एउटै नम्बरको मोटरसाइकलले फलो गरिरहेको थियो’, मुडभरीले थपे, ‘त्यसबेला गाडी रोकेपछि उनीहरु अलमलिए झैँ गरेका थिए ।’

राति थापा रहेको होटल वरिपरि प्रहरी जस्ता देखिने व्यक्तिको चहलपहल बढेपछि आफूहरुले पनि निगरानी गरेको उनले बताए । भने, ‘आउँदै फोनमा बोले जस्तो गर्दै होटलमा आउने जति सबै हेरिरहेका थिए ।’

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले घटनाबारे आफूहरुलाई केही थाहा नभएको बताए । ‘प्रहरीले संस्थागत रुपमा सुरक्षा दिने काम मात्रै गर्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले भने, ‘व्यक्तिगत गोपनियताको सवालमा अदालतको आदेशविना केही गर्दैन ।’

यदि घटना साँचो भए त्यो पक्राउ पर्ने व्यक्तिकै जिम्मेवारी हुने र संस्थागत प्रतिनिधित्व नगर्ने समेत उनले बताए । राईले  भने, ‘दोषी देखिए कानून बमोजिम कारबाही पनि हुनसक्छ ।’ अहिले थापा बैठक सकेर घर गएका छन् ।

कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुँदैछ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे