प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ पुस ७ गते हुने, ज्येष्ठ सदस्यकाे टुङ्गाे लागेन



प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ पुस ७ गते हुने, ज्येष्ठ सदस्यकाे टुङ्गाे लागेन

काठमाण्डाै ४ पुस । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ यही पुस ७ गते अर्थात् आउँदो बिहीवार हुने भएको छ । पुस ७ गते दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सांसदको शपथ ग्रहण हुने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले  जानकारी दिएका छन् ।

प्रत्यक्षतर्फका एक सय ६५ र समानुपातिकका एक सय १० गरी दुई सय ७५ जना सांसदको शपथ एकै पटक हुनेछ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने र उनै ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथ ग्रहण गराउनुपर्ने कानुन रहेको छ । नागरिकताका आधारमा माओवादी केन्द्रका ८१ वर्षीय सांसद महिन्द्रराय यादव नै सबैभन्दा ज्येष्ठ सदस्य छन् । तर उनले आफ्नो उमेर कम भएको दाबी गर्दै आएका छन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते भित्र सरकार आह्वान गरेको अवस्थामा त्यस पहिले नै सांसदको शपथ हुन लागेको हो ।

यसै बीच मातृभाषामा शपथ लिन चाहने सांसदले तीन दिन अगाडि नै सूचना दिन संसद् सचिवालयले अनुरोध गरेको छ । कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरि अनुवादको पत्र संसद् सचिवालयमा तीन दिनअघि नै उपलब्ध गराउनुपर्ने सचिनावायले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै सचिवालयले शपथ लिन आउँदा राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन भनेको छ ।प्रतिनिधि सभामा सांसदको शपथ आउँदो पुस ७ गते बिहीवार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक कक्षा बानेश्वरमा हुने छ । सचिवालयले सांसदलाई बिहान ११ बजे नै उपस्थित हुन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे