दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस



दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

काठमाण्डाै ३ पुस । नेपाली कांग्रेस काभ्रेले मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको निष्कर्षसहित दुई केन्द्रीय सदस्य र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ।

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ मा कांग्रेसका तर्फबाट काभ्रे क्षेत्र नम्बर–२ का प्रत्यक्षतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेकाले उनीहरूलाई कारबाही सिफारिस गरिएको लामाले बताए ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यविरुद्ध वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय समितिमार्फत् जिल्ला अनुशासन समितिमा उजुरी परेको छ । त्यस्तै केन्द्रीय सदस्य गणेश लामाविरुद्ध पनि पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको उजुरी परेको छ ।

बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांग्रेसले निर्देशन दिने निर्णयसमेत गरेको जिल्ला सभापति लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे