सडकमा गीत गाएर गुजरा चलाउने दृष्टिविहीनहरु अहिले आश्रमबाटै आत्मनिर्भर बन्दै



सडकमा गीत गाएर गुजरा चलाउने दृष्टिविहीनहरु अहिले आश्रमबाटै आत्मनिर्भर बन्दै

काठमाडौं ५ मंसिर । जस्ताको टहरामा बनाइएका लहरै कोठा । परबाट हेर्दा कुनै कारखानाजस्तै देखिन्छ । तर यो कुनै कारखाना होइन । काठमाडौं गोकर्णेश्वर नगरपालिकाको नयाँपाटीमा रहेको दृष्टिविहीनहरूको आश्रम हो । जहाँ ३५ जना दृष्टिविहीनले आश्रय लिइरहेका छन् ।

त्यही आश्रममा थिए नुवाकोटका दृष्टिविहीन रमेश गिरी । पहिले मैनबत्ती बनाउने, धुप बेच्ने, गलैँचा कारखानामा काम गर्ने गर्थे । गीतसंगीतका पारखी उनले संगीत पनि सिके । संगीत सिकेपछि उनी सडकमा गीत गाउन थाले । कोरोना भाइरसका कारण सडकमा गीत गाउन बन्द भयो ।

श्रीमती पूजा पनि दृष्टिविहीन । सानो छोरो पनि शारीरिक रूपमा अशक्त । काठमाडौं महानगरले सडक मानव मुक्त बनाउने घोषणा गर्‍यो । यता कोरोनाको महामारी पनि । अब के गर्ने ? कहाँ जाने ? उनी विकल्प खोज्न थाले । कपनमा कोठा थियो तर भाडा तिर्न नसक्ने भए । त्यसपछि उनी उक्त आश्रममा पुगेका हुन् ।

‘सडकमा गीत गाउने गरेको थिएँ । महानगरले सडक मानव मुक्त गर्ने भन्यो । फेरि कोरोना महामारी आयो । भाडा तिर्न नसकेपछि यहाँ आइपुगेको हुँ,’ उनले भने ।  अहिले उनी आश्रममा साबुन बनाउने काम गर्दै छन् ।

त्यही आश्रममा थिइन् कास्कीकी निर्माया गुरुङ । उनी घर नगएको पनि वर्षौं भयो । काठमाडौं आएपछि एक दुई पटक त गएकी थिइन् । त्यसपछि घर जान पाएकी छैनन् । ‘जान त मन लाग्छ तर कसरी जाने ? आमाबा पहिलाको ठाउँबाट सर्नुभएको छ रे,’ पीडा मिश्रित हाँसो थियो उनको ।

कोरोना कहरअघि उनी पनि सडकमै गीत गाउने गरेकी थिइन् । कोभिडका कारण उनको गायन रोकियो । अनि सुरु गरिन् साबुन बनाउन । भोजपुरका डम्बरबहादुर कार्की पनि सडकमै गीत गाउँथे । शारीरिक रूपमा अशक्त उनकी श्रीमतीले डाेर्‍याउँदै गाउन सडकमा लैजान्थिन्  । ‘कोरोनापछि गाउने काम पनि रोकियो । अहिले साथीहरूसँग मिलेर तरकारी खेती गर्दै छु,’ उनले भने ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । आश्रममा ३५ जना बस्छन् । धेरै दृष्टिविहीन छन् भने केही शारीरिक रूपमा अशक्त । सबै जना आफूले गर्न सक्ने केही न केही काम गर्छन् । मुख्य रूपमा साबुन बनाउने, तरकारी खेती गर्ने, कुखुरापालन, गाईपालनलगायतका काम उनीहरूले गरिरहेका छन् ।

कसरी सुरु भयो त ?

ओखलढुंगाका दृष्टिविहीन टेकबहादुर मगराती कृषि पेसामा नै आवद्ध थिए । पाँच रोपनी जग्गा भाडामा लिएर धान र आलु खेती गरेका थिए । केही समय उनले अण्डाको व्यापार पनि गरे । पछि मनी एक्सचेन्जमा पनि काम गरे । मनी एक्सेन्जमा काम गर्दा उनले सडकमा धेरै दृष्टिविहीन देख्न थाले । दृष्टिविहीनका लागि केही गरौँ भनेर उनले साथी टंक राउतसँग छलफल गरे । अनि निर्णय गरे- आश्रम खोल्ने र आत्मनिर्भर हुने ।

दृष्टिविहीन संघर्षशील अपांगता वृद्धाश्रम आमाको घर नेपाल’ संस्था नै दर्ता गरेर उनीहरूले आश्रमसँगै काम पनि सुरु गरेका हुन् । ‘सडकमा धेरै दृष्टिविहीन देखिन थाले, त्यसपछि सोच आएको हो ।  हामीले केही गर्नुपर्छ । दृष्टिविहीनका लागि बस्ने ठाउँ भए पनि बनाऔँ भनेर सुरु गरेका हौँ,’ उनले भने ।

जग्गा भाडामा लिएर टहरा बनाएको उनले बताए । ‘जग्गा भाडामा लिएर टहरा बनाएका हौँ । जमिनको भाडा वर्षको ३२ हजार तिर्नुपर्छ,’ संस्थाका अध्यक्ष टेकबहादुर मगरातीले भने,’ ‘दृष्टिविहीन पनि आत्मनिर्भर हुनुपर्छ भनेर सुरु गरेका हौँ । जसले जे सक्छौँ त्यही काम गर्छौं । जोकोही दृष्टिविहीनले पनि सडकमा बस्नु नपरोस् भनेर सुरु गरेका हौँ,’ उनले भने ।

साबुन बनाए पनि बिक्री नभएको उनले दुखेसो गरे । ‘साबुन कोठामै थन्किएको छ । ८ सय किलो साबुन छ । बिक्री भएको छैन । यो बिक्री नभई अरु बनाउन पनि गाह्रो छ,’ उनले भने, ‘गाई पनि पालेका छौँ । दूध बेचेर पनि आत्मनिर्भर बन्न सकिन्छ ।’

आर्थिक अभावमा टहरा बनाउने काम पनि रोकिएको उनले बताए । ‘आर्थिक समस्या छ । हामीले मात्र गर्न नसक्ने रहेछौँ । सबैको साथ र सहयोग पायाैँ भने हामीले फेरि सडकमा जानुपर्ने स्थिति आउँदैन,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे