एम्बुलेन्स सञ्चालकहरुलाई निर्देशिका कार्यान्वयन गर्न आग्रह



एम्बुलेन्स सञ्चालकहरुलाई निर्देशिका कार्यान्वयन गर्न आग्रह

देउखुरी १९ असोज । दाङ जिल्लाभरका एम्बुलेन्स सञ्चालकहरुलाई नेपाल सरकारले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

शनिवार लुम्बिनी प्रदेशको राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख तथा जिल्ला एम्बुलेन्स सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्य सचिव किशोर आचार्यले जानकारी दिए । संयुक्त एम्बुलेन्स चालक ट्रेड युनियन महासंघ दाङ द्धारा देउखुरीको राप्ती उपत्यकामा आयोजना गरिएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले एम्बुलेन्स सञ्चालन निर्देशिका–२०७८ ले निर्धारण गरेका प्रबधानहरुका बारेमा एम्बुलेन्स सञ्चालक र सरोकारवालाहरुलाई जानकारी गराएका हुन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एम्बुलेन्स संचालन निर्देशिका २०७३ बमोजिम जिल्लाभरका सरकारी तथा गैह्र सरकारी संस्थाहरुले सञ्चालन गरेका ग वर्गका एम्बुलेन्सहरु शंसोधित निर्देशिका २०७८ बमोजिम स्तरीकरण गरेर मात्र सञ्चालनमा ल्याउन आग्रह गरिएको छ ।

यस अघि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला एम्बुलेन्स संचालन तथा ब्यवस्थापन समितिले तिन महिना भित्र एम्बुलेन्सहरु स्तरीकरण गर्न भनि संचालकहरुलाई सार्वजनिक सुचना मार्फत म्याद दिएको र सोहि बमोजिम केहि सञ्चालकहरुले काम गरिरहेको तर धेरैले निर्धारित मापदण्ड कार्यान्वयन गर्न बाँकी रहेको सदस्यसचिव किशोर आचार्यले बताए । जसका लागि संयुक्त एम्बुलेन्स चालक संघ र जिल्ला एम्बुलेन्स संचालन तथा ब्यवस्थापन समितिको पहलमा तुलसीपुरमा संचालकहरु सहितको संयुक्त भेला सम्पन्न गरिसकेको र शनिवार देउखुरी क्षेत्रका एम्बुलेन्स संचालकहरु संग छलफल चलाई तत्काल घोराहीमा पनि संचालकहरु तथा सरोकारवालाहरु संग छलफल चलाउने तयारी गरिएको बताइएको छ । पुरानो निर्देशिका बमोजिम एम्बुलेन्स सञ्चालन अनुमती पाएका ग वर्गका सबै एम्बुलेन्सहरु शंसोधित नयाँ निर्देशिका बमोजिम स्तरीकरणका लागि जिपिएस प्रबिधि जडान गर्नुपर्ने, निर्धारित मापदण्ड बमोजिम रंगरोगन र डेण्टिङ गरिनुपर्ने, तोकिए अनुसारको साईरन, पावर स्टिरीङ र हेडवत्ती जडान गनुपर्ने, एम्बुलेन्समा आवश्यक औषधी, उपकरण, अक्सिजन, मनिटर, स्वास्थ्यकर्मि र तालिम प्राप्त चालक हुनुपर्ने तथा १० बर्ष पार गरेको एम्बुलेन्स सञ्चालनमा स्वतः बन्देज गरिने ब्यवस्था गरिएको छ ।

निर्धारित मापदण्ड पुरा गरि स्तरीकरण नगरेसम्म ग वर्गका पुराना एम्बुलेन्सहरु सञ्चालन गर्न रोक लगाईने भएको जिल्ला एम्बुलेन्स संचालन तथा ब्यवस्थापन समितिले जनाएको छ । गैह्र सरकारी संस्थाहरु वा निजी अस्पतालहरुले संचालन गर्दै आएका एम्बुलेन्सहरु स्तरीकरणका सबै प्रकृया पुरा गरि नजिकको सरकारी अस्पतालबाट संचालन सहमति–पत्र लिनुपर्ने र सरकारको निकायबाट २ बर्षका लागि नविकरण गर्नुपर्ने छ । अबका दिनमा सञ्चालन हुने सबै एम्बुलुन्सहरु क र ख वर्गका मात्र रहने छन् । सबै एम्बुलेन्सहरुले प्रेषण केन्द्र मार्फत सेवा दिनेगरि एकिकृत एम्बुलेन्स सेवामा अनिवार्य दर्ता हुनुपर्ने र जिपिएस अनिवार्य जडान गर्नुपर्ने भएको छ । यसरी सरकारको निकायको नियमनमा आएपछि टोलफ्रि नम्बर १०२ मा फोन गरेपछि पायक पर्ने स्थानबाट नागरिकहरुले तत्काल एम्बुलेन्स सेवा प्राप्त गर्ने छन् ।

पाँच देखि ५० शैयाको अस्पतालले संचालन गर्न सक्ने एम्बुलेन्स क वा ख वर्गको कुनै एकमात्र रहने ब्यवस्था गरिएको छ भने प्रादेशीक र संघीय अस्पतालहरुले क वर्गको १ र ख वर्गको १ गरि २ वटा मात्र एम्बुलेन्स संचालन गर्न पाईने ब्यवस्था निर्देशिकामा गरिएको छ । एमबुलेन्स १ हजार सिसी भन्दा बढी क्षमताको हुनुपर्ने, सरकारवाट राजश्व छुट भएको भए स्पष्ट देखिनेगरि लेख्नुपर्ने, एम्बुलेन्समा निर्देशिकाले तोके बमोजिमको रातो, हरियो र पहेंलो रंग हुनुपर्ने, मान्यता प्राप्त स्टिकर टाँस्नुपर्ने, एम्बुलेन्समा सवार बिरामी तथा सहयोगीको बिमा ब्यवस्था गरिनुपर्ने, चौबिसै घण्टा र सातै दिन सेवा प्रवाह गरिनुपर्ने, बिरामी बोकेर मित्रराष्ट्र जानुपर्ने भएमा कानून बमोजिम स्विकृति लिनुपर्ने तथा चालकको पोशाक अनिवार्य हुनुपर्ने निर्देशिकामा ब्यवस्था गरिएको कार्यक्रममा जानकारी दिइएको हो ।

अस्पतालको आफ्नै वा कुनै संघसंस्थाहरुले अस्पतालको नाममा गाडी खरिदगरि संझौता अनुसार संचालनमा ल्याएको तर स्तरोन्नती गर्न नसकेको एम्बुलेन्स बिरामीलाई आरामदायी हुने र कम्तिमा २ जना बिरामीका संरक्षक बस्न मिल्ने भ्यान साईरन नभएको प्राथमिक उपचार किट र चालकले तालिम लिएको गाडीहरुले बिरामी ओसार–पसार गर्न मिल्ने, प्रकृतिक प्रकोप को वेला सामाग्री बोक्न मिल्ने तर एम्बुलेन्स लेख्न नपाईने प्रावधान पनि निर्देशिकामा उल्लेख गरिएको छ । जिल्लामा सञ्चालित एम्बुलेन्सहरुको ब्यवस्थित रेकर्ड पनि छैन, सरकारसंग तथ्यांक पनि छैन र एम्बुलेन्सहरुको मर्यादा पनि छैन । मर्यादा कायम गर्ने, रेकर्ड अभिलेखिकरण र ब्यवस्थापन तथा नियमन गर्दै आम नागरिकहरुलाई गुणस्तिरीय सेवा प्रदान गर्ने सरकारको लक्ष्य रहेको र सोहि बमोजिम एम्बुलेन्स सञ्चालन निर्देशिका ल्याइएको जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिीका सदस्यसचिव आचार्यले बताए ।

निर्देशिका बमोजिम मापदण्ड पुरा गरेपछि जिल्लाभरका एम्बुलेन्स सञ्चालकहरु, चालक संघ र जिल्ला एम्बुलेन्स संचालन तथा ब्यवस्थापन समितिको संयुक्त भेला बसी नयाँ भडादर समेत कायम गरिने बताइएको छ । कार्यक्रममा जिल्ला एम्बुलेन्स संचालन तथा ब्यवस्थापन समितिका सदस्य सचिव किशोर आचार्य, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, संयुक्त एम्वुलेन्स चालक संघ दाङका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य सुभाष रिजाल, जिल्ला अध्यक्ष देविराज चौधरी, नेपाल रेडक्रस सोसाईटी उपशाखा लालमटियाका सभापति किरण भण्डारी, ट्राफिक प्रहरी प्रनानी शालिकराम बुढाथोकी र राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण रावत लगायतले बाेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे