रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट



रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

काठमाण्डाै २८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल (सफल) ले निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाउँदै  बुधवार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाण्डाैलाई विपक्षी बनाइएको छ । मुद्दाको किनारा नलाग्दासम्म उहाँलाई प्रतिनिधि सभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ । रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । रिट माथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले बताए ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचितसमेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे