प्रतिनिधि तथा प्रदेशसभा चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर
काठमाण्डौ २७ मंसिर । निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताएको छ ।
सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मङ्सिर ४ गते सम्पन्न चुनावमा खसेको मतको ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताए । उनले प्रदेश सभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको बताए । उनले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६ दशमलव ५५ प्रतिशत मत बदर भएको जानकारी दिए ।
त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको आयोगका उपसचिव भट्टराईले बताए । प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४ दशमलव ०७ प्रतिशत रहेको उनले बताए ।
उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५ दशमलव ७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बाग्मती प्रदेशमा ४ दशमलव १६ प्रतिशत मत बदर भएको छ ।
आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५ दशमलव ०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ दशमलव ०९ प्रतिशत मत बदर भएको छ ।
त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४ दशमलव ०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ दशमलव ५५ प्रतिशत मत बदर भएको उनले बताए ।
भट्टराईले समग्र ६१ दशमलव ४१ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । सबैभन्दा बढी मधेस प्रदेशमा ६५ दशमलव ७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७ दशमलव ८० प्रतिशत मतदान भएको उनको भनाइ छ ।
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ छ । त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१ दशमलव ३५, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१ दशमलव ३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१ दशमलव ३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव कमल भट्टराईले बताए ।