राजधानीलाई सफा सुन्दर बनाउन राजमार्ग सरसफाइमा जुटे स्थानीय र विद्यार्थी



राजधानीलाई सफा सुन्दर बनाउन राजमार्ग सरसफाइमा जुटे स्थानीय र विद्यार्थी

भालुवाङ २५ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई सफा सुन्दर बनाउन राप्ती गाउँपालिकाका स्थानीय तथा विद्यार्थीहरु सरसफाई अभियानमा जुटेका छन् ।राजधानी क्षेत्र तोकिएको राप्ती उपत्यका देउखुरी अन्तरगत लमही–भालुवाङ सडक खण्डको मसुरीया देखि भालुवाङ सम्म वडा नम्बर ४ का स्थानीय, जनप्रतिनिधि, राजनीतिक दल तथा विद्यार्थीहरु गरि हजारौंको संख्यामा राजमार्गको दायाँ बायाँ २५/२५ मिटर क्षेत्र सरसफाई गरिएको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिएका छन् ।

त्यसै गरि मसुरीया देखि भालुवाङ सम्म राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमुना माविका विद्यार्थीहरूद्वारा बृहत् राजमार्ग सरसफाई गरिएको छ । सयौंको संख्यामा रहेका विद्यार्थीहरुद्धारा राजमार्ग सरसफाई गरिएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले जानकारी दिएका छन् ।

जनस्तरबाट राजधानीको स्वागत गर्न सरसफाइ र सजावटको काम यति बेला धमाधम भालुबाङ बजार, पाखापानी, लालमटिया, मसुरिया, मौरीघाट, सिसहनियाँ लगायतका स्थानमा रहेका बस बिसौनी तथा प्रतीक्षालयहरुमा समेत नयाँ रंग लगाइएको छ । राजमार्ग किनारमा बढेका झाडी तथा रुख कटान समेत भइरहेकोे छ । बजार क्षेत्र तथा मूल सडकहरुमा पर्ने चोकहरुमा स्वागतद्वार निर्माण, प्रतीक्षालय रंगरोगन र सरसफाइ गर्ने काम धमाधम भइरहेको हो ।

राजधानीको मुख्यद्वारको रुपमा रहेको भालुबाङ बजार स्थित भालुबाङको क्यारी रंगरोहन तथा सरसफाइ समेत गरिएको छ । राजधानी परिसर भित्र सरफाइको काम सकिएको र बाँकी बाहिरी क्षेत्रमा पनि काम चलिरहेको सरसफाइ तथा सौन्दर्यकरण उपसमितिका संयोजक श्यामेश चौधरीले जानकारी दिएका छन् ।यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सडक तथा सार्वजनिक स्थानमा यत्रतत्र छरिएर रहेको प्लास्टिक जन्य बस्तुहरु विद्यार्थीहरुले साप्ताहिक रुपमा शुक्रबारिय कार्यक्रम राखेर जम्मा गरेमा पालिकाले खरिद गरिदिने ब्यबस्था मिलाउने बताएका छन् ।लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्र अन्तरगत लमही-भालुवाङ सडक खण्डको विभिन्न स्थानहरुमा भईरहेको सरसफाइ कार्यक्रममा सहभागी हुँदै अध्यक्ष विष्टले साे कुरा बताएका हुन् ।

सरसफाइ कार्यक्रमका सहभागीहरुकाे प्रसंसा गर्दै अध्यक्ष विष्टले सरसफाइकाे क्रममा जम्मा भएका प्लाष्टिक जन्य बस्तु जलाउँदा वायुमण्डल प्रदुषण हुनुका साथै मानिसको स्वास्थ्यमा प्रतिकुल असर हुने हुँदा त्यसाे नगर्न समेत आग्रह गरेका छन् । त्यस्तै उनले सरसफाइ सँगसँगै सचेतना पनि फैलाउनु पर्ने कुरामा जाेड दिदै सबैले यस कार्यमा सहयाेग गर्न अनुरोध समेत गरेका छन् । सरसफाइ कार्यक्रममा पालिकाकाे विभिन्न वडाहरुका स्थानीयहरु, जनप्रतिनिधि, राजनीतिक दलका अगुवा,  आदर्श मावि लालमटिया तथा मावि माैरीघाटका शिक्षक तथा विद्यार्थीहरुकाे स्वतस्फूर्त रुपमा सहभाता रहेको थियाे । साे अवसरमा पालिकाका उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, विभिन्न वडाका वडा अध्यक्षहरु, टाेल विकास संस्था तथा अन्य विभिन्न संघसंस्थाका अध्यक्षहरुकाे सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे