लमही र तुलसीपुर आँखा अस्पतालमा विशेषज्ञ सहितको उपचार सेवा सुरु



लमही र तुलसीपुर आँखा अस्पतालमा विशेषज्ञ सहितको उपचार सेवा सुरु

लमही २५ मंसिर । दाङका आँखा अस्पतालहरुमा विशेषज्ञ सहितको उपचार सेवा सुरु भएको छ । राप्ती आँखा अस्पताल तुलसीपुर र लमही आँखा अस्पतालमा जटिल प्रकारको शल्यक्रिया हुन थालेको हो । जसले गर्दा जटिल प्रकारको आँखा उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले आइतबार लमहीमा पत्रकार सम्मेलन गरेर आँखा उपचार सेवाको बारेमा जानकारी गराएको थियो । लमही आँखा अस्पताल र राप्ती आँखा अस्पताल तुलसीपुरमा सेवा थप गरिएको हो । आँखाको पर्दा, आँखाको नानी, आँखाको क्यान्सर, बाल आँखा रोगको उपचार तथा शल्यक्रिया सेवा थप गरिएको हो । मोतियाविन्दुको शल्यक्रिया यस अघिबाट हुँदै आएको छ । सामान्य सहित बिशेषज्ञ उपचार सेवा सुरु गरिएको हो । जसले गर्दा आँखा उपचारको लागी काठमाण्डौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

लमही आँखा अस्पतालमा सामान्य तथा जटिल दुवै प्रकारको आँखाको शल्यक्रिया हुने गरेको नेत्र विशेषज्ञ तथा निमित्त मेसु डाक्टर इप्सा भण्डारीले बताइन ।   दाङ जिल्लामा एक हजार ४ सय बढीमा विभिन्न प्रकारको अन्धोपन रहेको ¥याव सर्भेले देखाएको थियो । यो सर्भे सन् २०१६ देखी सन् २०१९ को विचमा गरिएको थियो । यसका आधारमा आँखा स्वास्थ्य कार्यक्रममा लगानी बढाइएको छ । नेपाल नेत्रज्योती संघ अन्तर्गत देशभर २६ वटा आँखा अस्पताल, एक सय २६ बटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । वार्षिक ३२ लाख भन्दा बढी नेत्ररोगीलाई वहिरंग सेवा र करिव ३ लाख ५० हजार भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गर्ने गरिएको छ । अन्धोपन निवारणको लागी सबै निकाय तथा सरकारको सहयोगको खाँचो परेको प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए । नेत्ररोग सम्वन्धी समस्या समाधान गर्ने उद्देश्य अनुसार आँखा उपचारमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

संघका कार्यवाहक सभापति तथा अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रेशमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले दृष्टि विहिनताको अवस्था, जिम्मेवारी र नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रमले दिएका सेवा तथा भावि कार्यक्रमहरूका बारेमा प्रकाश पारेका थिए । भने नेत्र अधिकृत शालिकराम गौतमले आधारभुत आँखा स्वास्थ्य शिक्षाको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योती संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह, नेपाल नेत्रज्योती संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, लमही आँखा अस्पतालका प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदी, नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा, नेत्रविशेषज्ञ डा. ईप्सा भण्डारी, पत्रकार महेश रिजाल, सन्तोषकुमार गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे