दाङ तुलसीपुरका रोशनी–शरद मृत्यु घटनामा संलग्न ५ जनालाई पुर्पक्षका लागि कारागार चलान



तुलसीपुर २० मंसिर । दाङका रोशनी महतरा र शरद आचार्य मृत्यु प्रकरणमा संलग्न पाँच जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेकाे छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा, ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्कीलाई दाङ जिल्ला अदालतले आइतबार थुनामै राखेर मुद्दा पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे।

त्यस्तै विद्युतीय धराप थाप्न सिकाउने स्थानीय हरिबहादुर आचार्यलाई पनि अदालतले मतियारका रूपमा पुर्पक्षका लागि कारागारमा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए।

न्यायाधीश ताराकुमारी शर्माको इजलासले उनीहरूलाई थुनामा पठाएका थिए। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय डिल्लीराज धिताल र दीपककुमार रेग्मी तथा अधिवक्ताहरू प्रदीप गौतम र मधुसुदन गौतम लगायत पाँच जनाले बहस गरेका थिए।

जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई, अधिवक्ता सन्तोष पोखरेल र सरकारी वकिल जिल्ला न्यायाधीवक्ता देवराज भारतीले बहस गरेका थिए।

गत असोज २७ गते राति उल्लिखित चार जनाले जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर रोशनी र शरदको एकै साथ ज्यान गएको थियो।

उनीहरूले असोज २४ गते रातिदेखि नै बँदेल मार्न भनेर धराप थाप्दै आएको र त्यो धराप थाप्न सिकाउने हरिबहादुर आचार्य रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि अन्तिममा उनी पक्राउ परेका थिए।

रोशनी र शरदको शव तुलसीपुर– १३ स्थित जनकल्याण सामुदायिक वनमा एकै ठाउँमा पुरेको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।

अम्मरराज कार्की र गणेश भनिने हरिशचन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर धराप हेर्न जाँदा दुवै जना मृत अवस्थामा फेला परेको देखेपछि उनीहरूले आपसमा सल्लाह गरी शवहरू नजिकै झाडीमा लुकाएको तथ्य खुलेको थियो।

त्यसपछि सोही दिन दिउँसो हरिशचन्द्रले शव व्यवस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर शव बोरामा राखेर चारै जनाले सल्लाह गरी एकै ठाउँमा पुरेको तथ्य खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका थिए।

शव गाड्न अम्मरराज कार्कीको घरबाट फरूवा ल्याएको अनुसन्धानबाट खुलेको थियो। शव व्यवस्थापनपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोबाइल र चप्पल जंगलको झाडीमा फालेका थिए।

तुलसीपुर– १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्य एकै विद्यालयमा अध्ययनरत थिए।  राति एकअर्कालाई भेट्न निस्केको समयमा विद्युतीय धरापमा परेर उनीहरूले ज्यान गुमाएका थिए।

-सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे