अघि बढ्यो रवि लामिछानेको पासपोर्ट र नागरिकताको छानबिन, अमेरिकी दूतावास संग बिबरण माग



अघि बढ्यो रवि लामिछानेको पासपोर्ट र नागरिकताको छानबिन, अमेरिकी दूतावास संग बिबरण माग

काठमाडौँ २० मंसिर । रवि लामिछानेको नागरिकता र पासपोर्टबारे जानकारी दिन अपराध अनुसन्धान महाशाखाले अमेरिकी दूतावासलाई पत्राचार गरेको छ।

गृह मन्त्रालयमा उजुरी परेपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले चितवन २ बाट निर्वाचित भएका लामिछानेको निष्क्रिय नागरिकता र दोहोरो पासपोर्टबारे शुक्रबारदेखि छानबिन थालेको थियो।

त्यसबारे थप प्रमाण जुटाउन महाशाखाले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासलाई पत्राचार गर्दै विवरण उपलब्ध गराउन आग्रह गरेको एक अधिकारीले जानकारी दिए।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि २०५० मा काठमाडौँ जिल्ला प्रशासनबाट लिएको नागरिकता स्वतः निष्क्रिय भएको थियो। नेपाल फर्किएपछि निष्क्रिय भएको नागरिकता जगाउन उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि गरेका छैनन्।

त्यस्तै उनले अमेरिकी नागरिकताको आधारमा सन् २०१४ मा त्यहाँको पासपोर्ट लिएका थिए। र उनी नेपाल फर्किएपछि सन् २०१५ (२०७२ साल जेठ १३) मा निष्क्रिय भइसकेको नेपाली नागरिकताका आधारमा नेपालको समेत पासपोर्ट लिएको खुलेको छ।

उनले सन् २०१८ (२०७५ जेठ ३) सम्म अमेरिकी राहदानी लिएको स्वीकार गरेका छन्। त्यसपछि उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग्ने प्रक्रिया अघि बढाएको सार्वजनिक भएका विवरणहरुले देखाउँछ। झुठा कागजात (नागरिकता)का आधारमा पासपोर्ट लिनु राहदानी ऐन २०७६ अनुसार कसुर जन्य कार्य हो।

यदि कसैले झुठा विवरण पेश गरेर पासपोर्ट लिएको ठहरेमा उक्त ऐनअनुसार दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। उनले निष्क्रिय नागरिकताका आधारमा दिएको उम्मेदवारी पनि रद्द भएर निर्वाचित सांसद गुम्ने खतरा छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे