विश्व कप फुटबलमा दक्षिण काेरियालाई ४-१ गाेलले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा



विश्व कप फुटबलमा दक्षिण काेरियालाई ४-१ गाेलले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा

काठमाण्डाै २० मंसिर । विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।

नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा एक/एक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे