दाङमा ६४ जना उम्मेदवारको जमानत जफत (नामावली सहित)



दाङमा ६४ जना उम्मेदवारको जमानत जफत (नामावली सहित)

दाङ १३ मंसिर । दाङमा नेकपा एमालेबाट विद्रोह गरेर हाम्रो नेपाली पार्टीबाट मंसिर ४ को चुनावमा उम्मेदवार भएकी गंगा चौधरी (सत्गौवा) सहित ६४ जनाको जमानत जफत भएको छ । गंगा चौधरीलाई एमालेले टिकट नदिएपछि हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार भएकी थिइन् ।

उनले मात्र १०९२ मत प्राप्त गरिन् । निर्वाचन ऐन–२०७४ को दफा ७१ मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । जुन व्यवस्था अनुसार गंगाको मत १० प्रतिशत पुग्न नसकेपछि धरौटी रकम जफत हुने भएको छ ।

यस्तै दाङमा प्रतिनिधिसभाका तीन तथा प्रदेशसभाका छ क्षेत्रमा उम्मेदवार बनेका ८९ जना उम्मेदवारहरुम मध्ये २५ जनाले मात्र जमानत बचाउन सफल भएका छन् । निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभातर्फ उम्मेदवार बनेका गठबन्धनबाट निर्वाचन जितेका ९ जना, नेकपा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका ९ जना, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका ३ जनाले जमानत बचाएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १(क) र १ (ख)बाट प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदवार सहित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं.२ (क) मा उम्मेदवार बनेका एक जना उम्मेदवारले मात्र जमानत बचाउन सफल भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

क-कसको भयो जमानत जफत ?

दाङ निर्वाचन क्षेत्र–१ मा प्रतिनिधि सभातर्फका ४ महिला र ४ जना पुरुष गरी ८ जना, क्षेत्र नं.२ मा १ महिला र ११ पुरुष गरेर १२ जना र क्षेत्र नं. ३ मा १३ जना पुरुष गरेर जम्मा ३३ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । त्यसैगरी प्रदेशसभातर्फ ३१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा गंगा चौधरी (सत्गौवासँगै संघीय लोकतान्त्रिक थारुहट मंन्चका उम्मेदवार पूर्व सांसद रुक्मिना चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका लिली बुढाथोकी, मंगल नेशनल अर्गनाइजेशनका शोभाराम बुढा, नेपाली कांग्रेस बिपीका अशोक खड्का, लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिभा बुढामगर, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्वुजा र स्वतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपाने सहित ८ जना उम्मेदवारहरुको जमानत जफल भएको छ ।

त्यसैगरी दाङ क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोलानाथ योगी, मंगोल नेशनल अर्गनाइजेशनका खड्गबहादुर बुढामगर, नेकपा मालेका नेत्रप्रसाद पाण्डेय, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, हाम्रो नेपाली पार्टीका शशीराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत, नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, मौलिक जरोकिलो पार्टीका रामचन्द्र खड्का, नेपाल मजदुर किसान पार्टीका आशाराम बैध्य र स्वतन्त्र उम्मेदार कृष्णबहादुर डाँगी, यमलाल जिसी र भुपनाथ अर्जेजगरी १२ जनाको जमानत जफत भएको छ ।

त्यसैगरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ओजबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी)का शालिकराम चौधरी, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी, मंगल नेशनल पार्टीका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णविर नेपाली, नेपाल मजदुर किसान पार्टीका बीरबहादुर चौधरी र स्वतन्त्र उम्मेदवारहरु हेमन्तबहादुर मल्ल, भुपबहादुर भण्डारी, तिलक खड्का, लीलाधर न्यौपाने, घनश्याम डाँगी र टोपेन्द्र बस्नेत गरी १३ जना उम्मेदवारको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे