दोहोरिने दाउमा इन्द्रजित, उछिन्न खोज्दै गंगाराम, थारु समुदायको मत निर्णायक



दोहोरिने दाउमा इन्द्रजित, उछिन्न खोज्दै गंगाराम, थारु समुदायको मत निर्णायक

देउखुरी १ मंसिर । एक समय नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको बोलवाला गृह जिल्ला दाङमा मात्र होइन, देशभर चल्थ्यो । राजनीतिक दाउपेचमा खप्पिस उनै खुमबहादुरलाई २०६४ को संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट हराएर माओवादीका इन्द्रजित चौधरी चर्चामा आए ।

प्रभावशाली नेतालाई हराएर २८ वर्षको उमेरमा संसद भवन छिरेका इन्द्रजित पार्टी विभाजनपछि भने मोहन वैद्य नेतृत्वको माओवादीमा लागे र केही वर्ष गुमनाम जस्तै भए । पछि रामबहादुर थापा (बादल) समूहसँगै माओवादी केन्द्रमा फर्किएका उनी २०७४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ को (१) बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित भए ।

२०७९ मंसिर ४ को निर्वाचनबाट पनि उनी प्रदेश सभामै दोहोरिने दाउमा छन् । प्रदेश स्वास्थ्यमन्त्री समेत रहेका चौधरीलाई रोक्न नेकपा एमालेका गंगाराम भट्टराई प्रयासरत छन् । लामो समयदेखि समाज सेवामा सक्रिय रहेर पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका भट्टराई र संसदीय राजनीतिको अनुभव संगालेर मन्त्रीसमेत भइसकेका चौधरी बीचको यो प्रतिस्पर्धालाई दाङमा चासोका साथ हेरिएको छ ।

फरक पृष्ठभूमि, समान एजेण्डा :

चौधरी र भट्टराई फरक-फरक राजनीतिक पृष्ठभूमिबाट आएका हुन् । चौधरी सुरुदेखि नै माओवादीको राजनीतिमा सक्रिय रहे भने भट्टराई लामो समय राष्ट्रिय जनमोर्चाको राजनीतिमा सक्रिय हुँदै हालैमात्र एमाले प्रवेश गरेका हुन् ।

वैद्य माओवादीमा रहँदा इन्द्रजितले केही समय घोराहीमा बेकरी सप चलाए । २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएपछि त्यो काम छाडेर पूर्णरुपमा राजनीतिमै सक्रिय भए । गंगारामले भारतमा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दा सिकेको सिपलाई प्युठानको खलंगामा सिलाइकटाइ व्यवसायको रुपमा प्रयोग गरे । २०५७ सालमा देउखुरीमा बसाइँ सरेपछि टायल/मार्बलको व्यवसाय थालेका उनी २०६९ सालमा देउखुरी उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत बने ।

दोलई खोला तटबन्धको समुदायस्तरबाट नेतृत्व गंगारामले गरेका थिए । सरकारको बहुवर्षीय योजनाबाट खोलाको दुवैतर्फ तटबन्ध भएपछि हाल डुबान केही हदसम्म रोकिएको छ भने कटानका कारण बगरमा परिणत भएको जग्गा पनि उकासिएको छ । यो काम आफ्नो पहलमा भएको भन्दै उनले यही विषयलाई चुनाव प्रचारमा प्रमुखताका साथ उठाउने गरेका छन् ।

प्रदेश सभा सदस्यको रुपमा इन्द्रजितले दाङ देउखुरी क्षेत्रमा लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्न पहल गरेका थिए । राजधानीको प्रमुख प्रशासनिक केन्द्र राप्ती गाउँपालिकामा रहने भएपछि त्यहाँ रहेको प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको गोबरडिहामा व्यवस्थापन गर्न पहलकलदमी लिए । गढवा-कालाकाटे हुलाकी सडकको विस्तार तथा स्तरोन्नतीमा पनि आफूले योगदान गरेको इन्द्रजित बताउँछन् ।

अहिले चौधरी र भट्टराई दुवैले देउखुरी क्षेत्रको विकास, आर्थिक समृद्धि, लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन, कटान-डुबान नियन्त्रण, सुकुम्वासी तथा भूमिहीनको व्यवस्थापन तथा किसानलाई मल र सिंचाइको प्रवन्ध गरिदिने लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका छन् ।

भालुबाङ स्वास्थ्य चौकीलाई ५० शय्याको अस्पतालको रुपमा विकास गर्ने विषयलाई चौधरी र भट्टराई दुवैले चुनावी एजेण्डामा समावेश गरेका छन् । लुम्बिनी प्रदेश सरकारले भालुबाङमा प्रादेशिक अस्पताल बनाउने सैद्धान्तिक निर्णय गरे पनि हाल कार्यान्वयनको अवस्था शून्यजस्तै छ ।

भट्टराईले ठूला चुनावी बाचा गरेका छैनन् । उनले सबैभन्दा पहिले किसानले मल, बिउ र सिंचाइ सुविधा पाउनुपर्ने एजेण्डा उठाएका छन् । ‘चुनाव प्रचारको क्रममा म ३२० वटा गाउँमा पुगें, सबै ठाउँमा खेती गर्ने बेला मल, बिउ, सिंचाइ नपाएको, उपचार र शिक्षा नपाएको गुनासा सुनें,’ भट्टराईले भने, ‘सबैभन्दा पहिले किसानका न्युनतम आवश्यकता पूरा हुने गरी कृषि क्षेत्रमा काम गर्छु, त्यसपछि बाँकी काम गर्ने हो ।’

लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन, राप्ती नदी तटबन्धन, कालाकाटे-नेपालगञ्ज रोड सन्चालन, कोइलाबास नाका सन्चालन लगायतका चुनावी एजेण्डा पनि उनले उठाएका छन् । तर यी कामलाई आफूले कृषि भन्दा कम प्राथमिकताका राखेको उनले बताए ।

विगतका जनप्रतिनिधिको कामबाट यहाँका मतदाता सन्तुष्ट नभएकाले यसपटक आफूलाई चुन्नेमा गंगाराम आशावादी देखिन्छन् । उता चौधरीले विगतमा आफूले गरेका विकासको कामबाट जनता परिचित भएको भन्दै यसपटक आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको बताउँछन् ।

स्थानीय तह निर्वाचनको परिणाम :

दाङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा राप्ती र गढवा गाउँपालिका तथा राजपुर गाउँपालिकाका वडा नं. १, २ र ३ पर्दछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गढवा गाउँपालिकामा अध्यक्ष र चार वटा वडाहरु माओवादी केन्द्रले जितेको छ । कांग्रेसले गाउँपालिका उपाध्यक्षसहित दुई वटा र एमालेले दुई वटा वडा जितेका छन् । इन्द्रजित पनि गढवा गाउँपालिकाकै हुन् ।

यसैगरी एमाले उम्मेदवार गंगारामको घर भएको राप्ती गाउँपालिकाको अध्यक्ष र दुईवटा वडा माओवादी केन्द्रले जितेको छ । उपाध्यक्ष र चार वटा वडा एमालेले जितेको छ । नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक-एक वडा जितेका छन् ।

यस्तै प्रदेश सभा १ मा पर्ने राजपुर गाउँपालिकाका तीनवटा वडाहरुमध्ये कांग्रेस, एमाले र माओवादीले एक-एक वटा वडा जितेका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जित्दा माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा देखिन्छन् ।

यो अवस्थालाई हेर्दा दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा सत्ता गठबन्धन बलियो देखिन्छ । यो क्षेत्रमा थारु समुदायको मत निर्णायक हुने भएकाले त्यसको लाभ इन्द्रजितले पाउन सक्छन् ।

तर यहाँ एमालेको पनि प्रतिबद्ध मतदाता छन् । अर्कोतर्फ एमाले उम्मेदवार गंगाराम सबैसँग घुलमिल हुने स्वभावका भएकाले उनलाई थारु समुदायकाले पनि मन पराउने गर्दछन् । त्यसैले चुनावमा सधैं सोझो हिसाब काम नलाग्ने हुँदा कसले बाजी मार्छ यसै भन्न सकिंदैन ।

-अनलाइन खबरबाट
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे