लोसपा नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज



लोसपा नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाण्डाै ३० कार्तिक । निर्वाचन आयोगले सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले आयाेगले उम्मेदवारी अयोग्य ठहर गरेको हो ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानुनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको हो ।

मेहताको उम्मेदवारी बदर भएसँगै चुनावका मतपत्र छपाइ भइ सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा लाने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्काे मतपत्र डिजाइन तथा छपाइ गरी मतदान हुने दिनअघि नै सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउन समय अभावको कारणले असम्भव भएको हुँदा मेहताको निर्वाचन चिह्न साइकलमा कुनै मत परेमा त्याे मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे