सुदूरपश्चिममा चार दिनभित्र चार सयभन्दा बढी परकम्प : भूकम्प र परकम्पको जोखिम कायमै



सुदूरपश्चिममा चार दिनभित्र चार सयभन्दा बढी परकम्प : भूकम्प र परकम्पको जोखिम कायमै

काठमाण्डाै २७ कार्तिक । गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प  गइरहेको छ । मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो ।

राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा  ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चारसय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।

शनिवार हिजाे बेलुकी मात्रै बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।भट्टराईका अनुसार नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्छ । त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प  नगएकाले जोखिम धेरै छ । विक्रम सम्वत् १५०५ सालमा पश्चिमी क्षेत्रमा ठूलो भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन् । तर, त्यतिबेला मापन सुरु भइनसकेकाले कति रेक्टर स्केलको भूकम्प गएको थियो भन्ने यकिन भने छैन । त्यसपछि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि त्यहाँ भूकम्पीय जोखिम धेरै रहेको हुन सक्ने भूकम्पविद् भट्टराईले बताए । विभिन्न अध्ययन अनुसन्धानले पनि पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको देखाएकाले सचेत हुनु पर्नेमा उनको जोड छ।

‘भूकम्पको कुनै पूर्वानुमान हुँदैन । तर, पनि पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै छ’– उनले भने । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स– साना भूकम्प  वा परकम्प पछि तितरबितर पनि हुनसक्छ र नहुन पनि सक्छ, दुवै सम्भावना छ ।  त्यसैले जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउनु आवश्यक छ । डोटीमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि सुदूरपश्चिमका कतिपय घर चर्किएका छन्  ।

स्थानीय बासिन्दाहरु अझै पनि चर्किएका घरमा नै बस्न बाध्य छन् । लगातारको परकम्पले कमजोर संरचनामा बनाइएका घरसहित भौतिक संरचना भत्किने जोखिम धेरै हुन्छ ।  यसले गर्दा सुरक्षित र सचेत रहन भूकम्पविद् भट्टराईको आग्रह छ ।

सुदूरपश्चिमका ग्रामीण क्षेत्रका धेरैजसो घर ढुङ्गा र माटोबाट बनेका छन् । भूकम्प जाँदा यस्ता घरहरु भत्किने सम्भावना धेरै रहन्छ । गएको मङ्गलवार गएको भूकम्पका कारण यस्तै कच्ची घरहरु भत्किएका  थिए । भूकम्पमा परेर डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे