एमालेलाई जिताए मात्र बुटवलबाट राजधानी देउखुरीमा आउँछ : एमाले उम्मेदवार चौधरी



एमालेलाई जिताए मात्र बुटवलबाट राजधानी देउखुरीमा आउँछ : एमाले उम्मेदवार चौधरी

भालुवाङ २४ कार्तिक । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर १ की उम्मेदवार शान्ता चौधरीले अहिलेको निर्वाचनमा एमालेले जितेमा मात्र राजधानी देउखुरीमा आउने ठोकुवा गरेकी छिन् । आज बिहिबार देउखुरीको राप्ती गाउँपालिकाका विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै चुनाबीसभालाई सम्बोधन गर्दै उनले यस्तो ठाेकुवा गरेकी हुन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गर्ने पनि एमाले र अस्थायी मुकाम बुटवलबाट स्थान्तरण गर्ने पनि एमाले भएकोले राजधानी स्थानन्तर, कार्यान्वयन र जग्गा फुकुवाका लागि एमालेलाई जिताउनुको बिकल्प नभएको बताइन् । उम्मेदवार चौधरीले राजधानी कार्यान्वयनको मुख्य बाधक गठबन्धन भएकोले अहिले सम्म राजधानी स्थानन्तरण हुन नसकेको आरोप लगाइन् ।

राप्ती गाउँपालिकाका विभिन्न चार ठाउँमा भएका चुनाबीसभाहरुलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले अहिले गठबन्धन भित्रको प्रमुख दल नेपाली काँग्रेसले बुटवलमा राजधानी सार्नेलाई हराउनुपर्छ भन्दै खुलेयाम प्रचार गरिहेकोले यसबाट के प्रष्ट हुन्छ भने गठबन्धनले कुनैपनि हालतमा देउखुरीमा राजधानी नल्याउने र आउन नदिने पक्षमा रहेको प्रष्ट भइसकेकोले अब बहुमत सहितको एमालेको सरकार बन्न आवश्यक रहेको बताइन् ।

चारै वटा चुनावीसभाको प्रमुख बक्ताको आसनबाट बोल्दै उम्मेदवार चौधरीले एमाले सरकारकै कारण देउखुरीले राजधानी पाएको भन्दै राजधानी कार्यान्वयन गर्ने जिम्मा र अधिकार पनि एमालेकै भएकोले केन्द्र र प्रदेशमा एमालेको एकल बहुमतको सरकार बने मात्र राजधानी कार्यान्वयन सम्भव हुने बताउँदै एमालेका उम्मेदवारहरुलाई बिजय बनाउन आग्रह गरिन् ।

यस्तै चार वटै चुनावीसभालाई सम्बोधन गर्दै एमालेबाट प्रदेशसभा १(१)का प्रत्यक्ष तर्फका उम्मेदवार गंगाराम भट्टराईले प्रदेश राजधानीलाई स्थायी राजधानीमा स्थानन्तरण, तत्काल राजधानी क्षेत्रको जग्गा फुकुवा र राप्ती नदी तटबन्धन प्रमुख एजेण्डा रहेको बताए । उनले यदि प्रदेश र संघमा एमालेको सरकार नबने अबको पाँच बर्षमा समेत देउखुरीमा राजधानी पनि नआउने र जग्गा फुकुवा पनि नहुने ठोकुवा गरे । राजधानी कार्यान्वयन गर्ने पार्टी भनेको एमाले बाहेक अरु कोही नभएको प्रष्ट पारिन् ।

नेकपा एमाले आज एकैदिन राप्ती गाउँपालिकाका चार वटै ठाउँमा छुट्टाछुट्टै चुनाबीसभाहरु सम्पन्न गरेको छ । जस अन्र्तगत वार्ड नम्बर १ को पाखापानी, वार्ड नम्बर २ को खुरुरिया, वार्ड नम्बर ४ को बुढीचौर र वार्ड नम्बर ८ को पिपरामा छुट्टाछुट्टै चुनाबीसभाहरु सम्पन्न भएका हुन् । ती चारवटै चुनावीसभालाई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर १ की उम्मेदवार शान्ता चौधरी र प्रदेशसभा १(१)का प्रत्यक्ष तर्फका उम्मेदवार गंगाराम भट्टराईले सम्बोधन गरेका थिए ।

साथै ती चुनाबी सभाहरुमा नेकपा एमालेका प्रदेश कमिटी सदस्यद्धय जगतप्रसाद पोख्रेल र बुद्धिप्रकाश चौधरी लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो । यता राप्ती गाउँपालिका वार्ड नम्बर ४ को बुढीचौर र वार्ड नम्बर ८ को पिपरामा आयोजित चुनाबीसभामा विभिन्न पार्टी परित्याग गरी करिब एक दर्जन बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवार र पार्टीका प्रमुख नेताहरुले टिकामाला लगाई स्वागत गरेका थिए ।

यता वार्ड नम्बर १ को पाखापानीमा आयोजित चुनावीसभा कार्यक्रमको सञ्चालन पार्टीका गाउँ कमिटी सचिव भरतमणि न्यौपाने, वार्ड नम्बर २ को खुरुरिया आयोजित चुनावीसभा कार्यक्रमको सञ्चालन पार्टीका गाउँ कमिटी अध्यक्ष मदन अधिकारी, वार्ड नम्बर ४ को बुढीचौर आयोजित चुनावीसभा कार्यक्रमको सञ्चालन पार्टीका युवा नेता जगत खनाल र वार्ड नम्बर ८ को पिपरामा आयोजित चुनावीसभा कार्यक्रमको सञ्चालन यम चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे