रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन चीनको आग्रह



रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन चीनको आग्रह

एजेन्सी । चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको हो ।

चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिनुभयो । रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएको छ । अवरोध हटाउँदै आपूर्ति सुनिश्चित गर्न रुस र युक्रेनले यसअघि गरेका सम्झौताको पालनामा गर्नुपर्नेमा पनि उहाँको जोड छ ।

चिनियाँ कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा इस्तानबुलमा गएको जुलाइमा भएको अन्न र मलको निर्यातसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमा भएको हस्ताक्षरको स्मरण समेत गराएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा व्यक्त गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे