नवलपरासीकाे सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे



नवलपरासीकाे सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे

नवलपरासी १५ कार्तिक । नवलपरासी पश्चिम सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । नवलपरासीकाे सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेकाे नारायणी नदीको भङ्गालोमा डुङ्गा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुङ्गा दुर्घटनामा परि  सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो ।

दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन् । घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डे बताए ।

हिजाे सोमवार दिउँसाे डुङ्गा दुर्घटना भएको हो । डुङ्गा पल्टिएर पाँच जना डुबेपछि उद्धार गरी चौपत्ता अस्पताल पुर्याइएकोमा तीन जनाको उपचारका क्रममा सोमवार राति ज्यान गएकाे प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

सुस्ता गोकुल नगरका युवाहरू नर्सही नजिक पटनहियामा पिकनिक खान गएका थिए । पिकनिक खाएर फर्किने क्रममा डुङ्गा दुर्घटनामा परेको हो । ७ जना पिकनिक खान गएकोमा दुई जना भने मर्चहवा गाउँतर्फको बाटो हुँदै घर फर्किएको पाण्डेले जानकारी दिए । पाँच जना भने नारायणीको भङ्गालो हुँदै डुङ्गामार्फत फर्किँदा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे