पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्दै,



पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्दै,

काठमाण्डौ ४ कार्तिक । देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ । केही दिन अघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको छ ।

मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको छ । उनका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न सकेको छैन ।

धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फबाट बहने हावाले पनि चिसो बढाएको छ ।

जाडोयाम सुरु भइसकेकाले चिसो अझै बढ्दै जाने छ । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए ।

उनका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

मापन भएको मौसम अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँको अधिकत तापक्रम १९ डिग्री सेल्सियस छ ।

यस्तै, जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै, काठमाण्डौको बिहानको न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम भने आज २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे