चोरीका घटना बढेपछि घोराही १८ का विभिन्न टोलका स्थानीयद्धारा रात्रीकालीन गस्ती



चोरीका घटना बढेपछि घोराही १८ का विभिन्न टोलका स्थानीयद्धारा रात्रीकालीन गस्ती

घोराही ३१ असाेज । पछिल्लो समय गाउँमा श्रृंखलावद्ध रुपमा चोरीका घट्ना घट्दै जान थालेपछी घोराही १८ का विभिन्न टोलका स्थानीयले रात्रीकालीन गस्ती अभियान संचालन गरेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ को गिठेपानी फुर्सेखाली संयुक्त १२ टोल विकास संस्थाका स्थानीयले चोरी नियन्त्रणसँगै सतर्कताका लागि दुई महिनादेखि नियमित रुपमा रात्रीकालीन गस्ती गर्ने गरेका छन् । १२ वटा टोलबाट ३६ जना समूह बनाएर रात्रीकालीन गस्ती गर्ने गरिएको छ ।

पाँच वर्ष अघि गठित संयुक्त १२ टोल विकास संस्थाका स्थानीयले पालो लगाएर रातभर ४ समुह बनाएर गाउँमा रात्रीकालीन गस्ती अभियान चलाएको संस्थाका अध्यक्ष मात्रिकाप्रसाद पाण्डेले जानकारी दिए । ‘यो ठाउँ हिजोका दिनबाटै सुरक्षाका दृष्टिकोणले सम्वेदनशील ठाउँ हो, बाउबाजेको पालामा जाँडरक्सी खाने अनि छोरा नातिलाई पनि खान सिकाउने परिपाटीले अहिले समस्या भएको छ,’ अध्यक्ष पाण्डेले भने, ‘बजारमा कुनै घटना भयो भने अभियुक्त लुक्न यतै आउँछन् । प्रहरीले पनि यो ठाउँलाई विशेष रुपमा लिने गरेको छ । प्रहरीको रेडजोनमा पर्छ । बजारमा अपराध गर्ने अनि जंगल नजिक भएकोले लुक्न आउने ठाउँका रुपमा रहेको हुँदा पनि प्रहरीले यो ठाउँलाई विशेष निगरानी राख्ने गरेको छ ।’ सात सय बढी घरधुरी रहेको संयुक्त १२ टोल विकास संस्थामा अहिले संस्थागत रुपमा काम हुन थालेपछि स्थानीयले पनि यो अभियानलाई साथ दिँदै आएका छन् ।

१८ नम्बर वडाको गिठेपानी, गाउँबेसी, ड्यामसाईड, लेकबेसी, खरकट्टी, नयाँ बस्ती, दिदिबहिनी, मिलिजुली, जलुके, भयारथान, सुन्डबरी, पुलचोकका टोलबासी अहिले समाज सुधार्न र सचेतना फैलाउन कम्मर कसेर लागेका छन् । पछिल्ला केही वर्षयता यहाँ विभिन्न सचेतनाका कार्यक्रमदेखि टोलबासीलाई जागरुक बनाउने काम हुँदै आएको संस्थाका सदस्य घनबहादुर रावतले बताए । वडा कार्यालयमै दर्ता गरेर विधिवत रुपमा काम गर्दै आएको संयुक्त १२ टोल विकास संस्थाले सबै टोल विकास संस्थासँग सहकार्य गर्नेदेखि समन्वयको काम गर्दै आएको उनले बताए ।

खासगरी, पछिल्लो केही दिनयता, गाउँमा चोरीका घटना बढेपछि स्थानीय आफै जुर्मराएका हुन् । ‘प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न दिनरात खटेरै काम गर्छ, तर त्यतिले मात्रै पुग्ने रहेनछ, आम नागरिकको पनि कर्तव्य हो भन्ठानेर हामीले यो अभियान चलाएका हौँ, प्रभावकारी भएको ठानेका छौँ,’ अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बजारतिरबाट आउने र चोरी गर्ने समुहले सताएका छन् । गाउँमा गस्ती हुन थालेपछि चोरीका घटनामा कमी आएको छ ।’ सबै टोलका स्थानीयसँग बसेर छलफल पश्चात यो अभियान चलाएपछि गाउँले शान्तिको महसुस गरेका संस्थाका सचिव दिनेश वलीले बताए ।

‘ढोडेनीदेखि सुपैलाखुटीसम्म, रझेनादेखि कटुवा खोलासम्म फैलिएको १२ वटा टोललाई समन्वय गरि काम भईरहेको छ,’ उनले भने, ‘यसमा १२ वटै टोलका अध्यक्ष पदेन सदस्य छन् । अहिले हामीले थालेको अभियानले गाउँलेले राहत महसुस गरेका छन् ।’ उसो त, संयुक्त १२ टोल विकास संस्थाको पहलमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी अघिल्लो वर्ष पीपल खालीमा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । संस्थाकै पहलमा लागू औषध तथा हरेक प्रकारका मदिरा उत्पादन बिक्री वितरण ओसारपसार र सेवन निषेधित क्षेत्र घोषणा गरेर अहिले पनि अभियानलाई निरन्तरता दिईएको अध्यक्ष पाण्डेले बताए । ‘हिजोका भन्दा त अहिले धेरै सुधार भईसक्यो, उति बेला यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक थियो,’ उनले भने, ‘निकै प्रयासपछि समाज सुधारको कामले सार्थकता पाउँदै गएको छ ।’ रात्रिकालीन गस्तीले निकै फाईदा पुगेको बताउँदै हिजो आज रातको समयमा अपरिचित व्यक्ति गाउँमा भेला परे फर्काउने, गाउँमा राति अबेरसम्म बस्न नदिने, कुनै शंका लागेमा प्रहरीलाई जानकारी गराउने काम भईरहेको बताए ।

उनका अनुसार लागू औषध दुव्र्यसन नियन्त्रण सम्बन्धि सचेतना २ पटक, सरसफाईको अभियान तथा सभ्य समाज निर्माणका लागि पहल गर्नेदेखि गाउँमै नगरपालिकाको फोहोर बोक्ने गाडी ल्याउने काम भएको छ । यस्तै, सो क्षेत्रमा रहेका कालिका सामुदायिक वनलाई पनि संचालन र व्यवस्थापन गर्ने भन्ने बारेमा समन्वय गर्ने गरिएको छ । सभ्य र मर्यादित समाज निर्माणका लागि काम हुँदै आएकाले आगामी दिनमा संयुक्त १२ टोल विकास संस्था लागू औषध र मदिरा सेवन पूर्ण रुपमा नियन्त्रित हुने स्थानीयको भनाई छ ।

गाउँ ठाउँमा भएका सार्वजनिक निकाय, कार्यालयसँग समन्य गर्नेदेखि टोलभित्र रहेका सार्वजनिक निकाय व्यवस्थित बनाउन दबाव दिने काम हुँदै आएको अध्यक्ष पाण्डेले बताए । स्थानीय आधारभूत विद्यालय गिठेपानीको व्यवस्थापकीय पक्षलाई पनि चुस्त दुरुस्त बनाउनेदेखि कुनै पनि समस्या आईपरे जति बेला पनि छलफल हुने र कामका बारेमा नियमित समन्वय हुने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे