बाढीले दाङकाे देउखुरीमा ३ हजार ५ सय बढी घर डुबानमा, २ सय ३ घरमा क्षति, २ सय ४० जनाको उद्धार



बाढीले दाङकाे देउखुरीमा ३ हजार ५ सय बढी घर डुबानमा, २ सय ३ घरमा क्षति, २ सय ४० जनाको उद्धार

देउखुरी २२ असाेज । दाङमा निरन्तरको वर्षापछि बाढी आउँदा २ सय ३ घरमा क्षति पुगेको छ । बुधबारदेखि आएको अविरल वर्षाले देउखुरी उपत्यकाको अधिकांश गाउँ डुवानमा पर्दा २ सय ३ घरमा क्षति पुगेको हो ।

जसमध्ये ४८ घर पूर्णरुपमा भत्किएको छ भने ४५ घर आंशिक रुपमा भत्किएको जिल्लाका आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । राप्ती नदी र आसपासका खोलाहरुका कारण , राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिका धेरै बस्तीहरु डुबानमा परेका छन् ।

बस्ती डुबानमा पर्दा बाढीमा फसेका २ सय ४० जनाको उद्धार गरिएको छ । उनीहरुलाई सुरक्षित ठाउँमा लगिएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

देउखुरी उपत्यकामा बाढी पस्दा ३ हजार ५ सय ३७ घर डुवानमा परेका छन् । जस अन्तर्गत राप्ती गाउँपालिकाकाे कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनिया लगाएतका गाउँहरुमा पनि बाढी पसेको छ ।

त्यस्तै गढवाका गाउँपालिकाकाे वडा नम्बर– ५ को बोधिपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा–७ कान्छिगाउँ लगायतका बस्ति डुवानमा परेका छन् । यस्तै  लमही नगरपालिकाको धेरै बस्तीहरु डुबानमा परेको जिल्ला आपतलकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्र दाङका अनुसार लमही नगरपालिकामा १ हजार ३ सय ९५, राजपुर गाउँपालिका ८ सय, राप्ती गाउँपालिकामा ६ सय १० र गढवा गाउँपालिकामा ६ सय ६० घर डुबानमा परेका छन् ।

वर्षाले ठाउँ–ठाउँमा क्षति

बुधबारदेखिको लगातारको वर्षाले दाङका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । मुख्य राजमार्गसँगै भित्रि सडकहरुमा क्षति पुगेको छ । यस्तै वर्षासँग आएको पहिरोका कारण लमही–घोराही जोडिएको १३२ केभी विद्युतीय प्रशारण लाइनको टावर ढलेको छ ।

यो समाचार तयार पर्दासम्म मुख्य राजमार्गहरुमा आएको पहिरो हटाएर सडक सञ्चालन गरिएको छ । तर पुनः पहिरो आउन सक्ने सम्भावना भने रहेको प्रहरीले नजाएको छ ।

पहिरोले शुक्रबार मध्यान्नदेखि अवरुद्ध भएको लमही–घोराही सडकखण्ड शनिबार दिउँसो एक तर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले लमही–घोराही सडकखण्ड साना गाडी चल्ने गरी एकतर्फीमात्र सञ्चानमा आएको बताए ।

तर पूर्ण रुपमा सडक सञ्चालन नहुँदा यात्रुहरु समस्यामा परेका छन् । त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ–बुटवल सडक खण्डमा खसेको पहिरो पनि हटाएर सवारी सधान सञ्चालनमा ल्याएको प्रवक्ता गौतमले जानकारी दिए ।

तर जिल्लाका भित्र सडक भने अहिले पनि खुलेका छैनन् । जसले गर्दा दशैको तीन दिनसम्म पानी पार्दा आफन्त कहाँ टीका पु¥याउन जान नपाएकाहरु बाटोमा नै अलपत्र परेका छन् ।

राप्ती उपत्यकाको राप्ती गाउँपालिका, लमही नगरपालिकाको पहाडी भु–भाग र दाङ उपत्यकाको तुलसीपुर उपमहानगरपालिकासँगै बबई, शान्तिनगर, बंगलाचुली गाउँपालिकाकाको ग्रामिण बस्तीका भित्र सडकहरुमा पहिरो आउँदा यात्रु अलपत्र परेका हुन ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउने काम पनि भएको छैन । भारी वर्षाका कारण पहिरो पन्छाउन सम्भव नभएको र वर्षा रोकिएपछि पहिरो खुलाउने काम हुन जिल्ला ट्राफिक प्रहरी प्रमुख झविन्द्र परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे