आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा



आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा

काठमाण्डाै २२ असाेज । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् ।

उनले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी पनि तयारी अवस्थामा रहेको बताए। आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि भोलि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

खराब मौसम र चाडपर्वको कारण उम्मेदवारी दर्ताको समय केहीदिन पर सार्न सुझाव र आग्रह आए पनि समयको ख्याल गरेर आयोगले मिति परिवर्तन गर्न नसकेको थपलियाले बताए। उनले समावेशी र समानुपातिकतालाई ख्याल आग्रह गर्दै आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नेतर्फ पनि सचेत गराएका छन्।

यता निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ । निर्वाचन आयोगले शनिवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यस्ताे जानकारी दिएकाे हाे ।

भोलि (आइतवार) आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार मनोनयनका लागि आवश्यक सहजीकरण गर्न निर्वाचन आयोग तयार रहेको बताए ।

उनले निर्वाचन कार्यतालिका भने पछि सार्न नसकिने पनि स्पष्ट पारे । थपलियाले उम्मेदवारीको मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य नरहेको पनि बताउनु भयो । दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको पनि उनले बताए ।

थपलियाले भन्नुभयो, ‘उम्मेदवारी मनोनयनका लागि आफैँ जान नसक्ने अवस्थामा आफ्नो वारेस वा प्रतिनिधिमार्फत गर्न सकिने व्यवस्था गरेको हुनाले उम्मेदवारको भौतिक उपस्थितिको अनिवार्यता कानुनले भनेन ।

अप्ठ्यारो स्थितिमा आयोगले राजनीतिक दलहरुलाई आफ्नो स्रोत, साधन र जनशक्ति प्रयोग गरेर उम्मेदवारको मनोनयन गर्न सकिने व्यवस्था गरेको छ । कुनै अवरोध भएमा आयोगले सहजीकरण गर्नका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ ।

त्यसका लागि दलको आधिकारिक पत्र, वारेश नामा र मतदाता परिचय पत्रको निस्सा भने हुनुपर्नेछ । योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने अधिकारबाट आयोगले वञ्चित गराउनेछैन ।’

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर चुनावको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरुलाई रोक लगाइएको बताए ।

अन्य निर्वाचन क्षेत्रमा कुनै काम विशेष जान पर्यो भने आयोगको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख गरिएको उहाँको भनाइ थियो ।

थपलियाले भने, ‘कुनै पनि सरकारी वा सार्वजनिक स्रोत, साधन प्रयोग गरेर आफ्नो बाहेक अन्य निर्वाचन क्षेत्रमा जानका लागि आयोगले अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रीहरुको हकमा पनि यो नियम लागू हुन्छ ।’

निर्वाचन आयोगले यो वर्ष भने चुनावको दिन मंसिर ४ गते गाडी व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि अनुमति दिने भएको छ । ज्येष्ठ नागरिक, अशक्त, मतदान केन्द्रभन्दा धेरै टाढा भएका मतदाताहरुका लागि पनि गाडी व्यवस्थित ढङ्गले सञ्चालन गर्न अनुमति दिने निर्णय आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

त्यसका लागि आयोगले यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरीका प्रतिनिधिहरु रहेको कार्यदल गठन गरी त्यसले दिएको सुझावको आधारमा यस्ताे निर्णय गरेको हो ।

थपलियाले यसअघि चुनावका दिन नेपाल बन्द आह्वानको दिनजस्तो भएकाले त्यसो हुन नदिन पनि आयोगले यस वर्ष मंसिर ४ गते हुने चुनावका लागि गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गर्नु परेको बताए । निर्वाचन आयोगले चुनावलाई निष्पक्ष ढङ्गले सम्पन्न हुने गरी निर्वाचन सुरक्षा व्यवस्था पनि मिलाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे