प्रत्यक्षतर्फ उम्मेदवारी दिन अब मात्र तीन दिन बाँकी, उम्मेदवार बन्न यस्ता छन् मापदण्ड (सूचीसहित)



प्रत्यक्षतर्फ उम्मेदवारी दिन अब मात्र तीन दिन बाँकी, उम्मेदवार बन्न यस्ता छन् मापदण्ड (सूचीसहित)

काठमाडाैँ २० असाेज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ ।
यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।
यस्तै असोज २२ गते उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने तथा कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

उम्मेदवार बन्न यस्ता छन् मापदण्ड :

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरेको छ। आयोगको बिहीबार बसेको बैठकले उम्मेदवारी दिन आवश्यक पर्ने योग्यता मापदण्ड जारी गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए।

मापदण्डअनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार बन्न पाउने छैनन्। प्रतिनिधिसभाका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभाका हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ।

त्यस्तै उम्मेदवार बन्न २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने लाभको पदमा कायम रहेको अवस्थामा उम्मेदवारी दिन पाइने छैन। ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्ने आयोगले भनेको छ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछ।’

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएर दुई वर्षभन्दा कम सजाय भोगेमा पनि उम्मेदवार हुन नपाउने आयोगको मापदण्ड छ। भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग लगायतका फौजदारी कसुरमा द‍ोषी प्रमाणित व्यक्ति पनि उम्मेदवार हुन अयोग्य हुनेछन्।

त्यस्तै संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउने छैन। यस्ता व्यक्ति उम्मेदवार भएको थाहा भए कसैले पनि उजुरी दिन सक्नेछन्।

‘मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ,’ आय‍ोगले भनेको छ।

उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुन आवश्यक योग्यता पूरा नगरेको र अयोग्य रहेको भए सम्बन्धित निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारी बदर गर्ने आय‍ोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे